न्यु साउथ वेल्सको जेलमा झडप : दुई कैदी र तीन आगन्तुकविरुद्ध मुद्दा

Bathurst Gaol
spot_img

न्यु साउथ वेल्सको केन्द्र भागस्थित बाथर्स्ट सुधारगृह (Bathurst Correctional Centre) मा फेब्रुअरी ८ तारिख शनिबार बिहान झडप भएको घटनामा संलग्न रहेका दुईजना कैदी र तीनजना आगन्तुकविरुद्ध कानुनी कारबाही अघि बढाइएको छ।

प्रहरीका अनुसार, बिहान ९:३० बजे सुधारगृहभित्र दुई पुरुष कैदी र तीन आगन्तुकबीच विवाद हुँदै झडप भएको सूचना पाएपछि सुरक्षाकर्मीहरू तुरुन्तै घटनास्थलमा पुगेका थिए। स्थिति नियन्त्रणमा लिएपछि पाँचै जनालाई तत्काल नियन्त्रणमा लिइएको थियो।

घटनापछि २९ र ३६ वर्षका दुई पुरुष कैदी तथा ३२ वर्षीय पुरुष र ३२ तथा २८ वर्षीया दुई महिलालाई पक्राउ गरिएको थियो। प्रहरीले पुष्टि गरेअनुसार तीमध्ये ३२ वर्षीय पुरुष र दुबै महिलामाथि सार्वजनिक स्थानमा हिंसात्मक व्यवहार (affray) गरेको अभियोगमा मुद्दा दायर गरिएको छ। त्यसमध्ये ३२ वर्षीया महिलामाथि थप रूपमा सामान्य आक्रमण (common assault) को अभियोग पनि लगाइएको छ।

त्यस्तै, सुधारगृहमा रहेका २९ र ३६ वर्षीय दुई पुरुष कैदीलाई समेत झडपमा संलग्न भएको अभियोगमा अफ्रेको मुद्दा लगाइएको हो।

पाँचै जना आरोपितलाई प्रारम्भिक सुनुवाइका लागि अदालतमा प्रस्तुत गरिएको प्रहरीले जनाएको छ। अदालतले चारजनालाई भोलि, मंगलवार बाथर्स्ट स्थानीय अदालतमा पुनः उपस्थित गराउने निर्णय गरेको छ भने ३२ वर्षीया महिलालाई आगामी अगस्ट २० मा अदालतमा उपस्थित गराइनेछ।

सुधारगृहभित्रको सुरक्षा र आगन्तुकसँगको व्यवहारलाई लिएर उठेका प्रश्नहरूका बीच यो घटना सार्वजनिक भएको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img