प्रधानमन्त्री ओली स्पेन भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किंदै

spot_img

प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किंदै छन्। उनी विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असार १४ गते (शनिबार) स्पेनको राजधानी म्याड्रिड प्रस्थान गरेका थिए।

सूचना तथा प्रसारण विभागका अनुसार प्रधानमन्त्री ओली आज अपराह्न ३:४५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ। हाल उनी कतारको दोहा हुँदै स्वदेश फर्किने क्रममा छन्।

स्पेनमा रहँदा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज, इस्टोनियाका राष्ट्रपति अलार कारिस, इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुली, र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गरेका थिए। यी भेटवार्तामा आपसी सहकार्य, जलवायु वित्त, विकास साझेदारी, तथा अल्पविकसित राष्ट्रहरूको साझा चासोका विषयमा छलफल भएको बताइएको छ।

प्रधानमन्त्री ओलीले उक्त अन्तरराष्ट्रिय सम्मेलनलाई औपचारिक रूपमा सम्बोधन गरेका थिए। साथै, उनले अल्पविकसित राष्ट्रहरूको उच्चस्तरीय बैठकको अध्यक्षता समेत गरेका थिए। सम्मेलनका क्रममा विकास सहायतामा नवीन सोच, वित्तीय समावेशिता, तथा दिगो विकास लक्ष्य (SDGs) प्राप्तिका लागि आवश्यक अन्तरराष्ट्रिय सहकार्यबारे विभिन्न साइड इभेन्ट तथा छलफल सत्रहरूमा प्रधानमन्त्री ओलीको सक्रिय उपस्थिति रहेको थियो।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले स्पेनको राजधानी म्याड्रिडस्थित विश्वप्रसिद्ध फुटबल क्लब रियल म्याड्रिडको होम ग्राउन्ड सान्टियागो बर्नाबाउ रंगशाला अवलोकन गरेका थिए। उनले स्पेनस्थित नेपाली दूतावासको निरीक्षण गर्नुका साथै नेपाली समुदायसँग अन्तरक्रिया गरी प्रवासी नेपालीको अवस्था, चासो र समस्याबारे जानकारी लिएका थिए।

प्रधानमन्त्रीको यो भ्रमणले नेपाललाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गर्नुका साथै विकास, वित्त र बहुपक्षीय सहकार्यमा नयाँ अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ। सरकारी अधिकारीहरूका अनुसार भ्रमण सफल र उपलब्धिमूलक रहको छ।

spot_img