ग्रीसको क्रेट टापुमा भीषण डढेलो, १,५०० भन्दा बढीको उद्धार

The current image has no alternative text. The file name is: 1117208_0.jpeg.webp
spot_img

ग्रीसको सबैभन्दा ठूलो टापु क्रेटमा फैलिएको डढेलो नियन्त्रणबाहिर पुगेपछि गम्भीर मानवीय संकट उत्पन्न भएको छ। डढेलोका कारण चार वटा बस्तीहरू खाली गरिँदा करिब १,५०० भन्दा बढी स्थानीय बासिन्दा र पर्यटकहरूलाई सुरक्षित स्थानमा सारिएको छ।

बुधबार दिउँसो इएरापेत्रा नजिकै सुरु भएको डढेलो तीव्र गतिमा फैलिन थालेको हो। ग्रीसको मौसम विभागका अनुसार ५० माइल प्रतिघण्टाको हुरी र औसतभन्दा ३–५ डिग्री सेल्सियसले बढेको तापक्रमका कारण आगो नियन्त्रणमा लिन कठिनाइ भइरहेको छ। यस्ता मौसमीय अवस्था आगो फैलिन झनै अनुकूल भएको ग्रीक अग्नि नियन्त्रण विभागले जनाएको छ।

डढेलो नियन्त्रणमा ल्याउन देशभरबाट २३० भन्दा बढी दमकलकर्मी, ४६ वटा दमकल सवारीसाधन र १० वटा अग्नि नियन्त्रण हेलिकप्टर खटाइएको छ। आगोले स्थानीय बासस्थान, होटल, पर्यटक गन्तव्य स्थल र अवकाश बिताइरहेका सयौं पर्यटकहरूलाई समेत प्रभावित पारेको छ।

इएरापेत्रा नगरपालिकाले तत्कालै आपतकालीन व्यवस्थापनको तयारी गर्दै इनडोर प्रशिक्षण केन्द्रलाई अस्थायी शिविरमा रूपान्तरण गरेको छ, जहाँ सयौं नागरिक र पर्यटकहरूले बुधबार राति आश्रय लिएका थिए। उद्धार कार्यमा स्थानीय प्रहरी, स्वास्थ्यकर्मी र तट रक्षक बलको समेत सहयोग लिइएको छ।

ग्रीसको अग्नि नियन्त्रण विभागका प्रवक्ता प्रमुख भासिलियोस भथ्राकोयानिसले बिहीबार जारी विज्ञप्तिमा भनेका छन्, “हामी डढेलोको सिजनको तेस्रो र सबैभन्दा कठिन महिनामा प्रवेश गर्दैछौं। अहिलेको मौसमीय अवस्था डढेलो फैलिनका लागि अत्यन्त जोखिमपूर्ण छ।”

युरोपका अन्य देशहरू पनि यस्तै विपत्तिको चपेटामा परेका छन्। टर्कीको पश्चिमी प्रान्त इज्मिर, मनिसा र दक्षिणी हटाय क्षेत्रमा फैलिएको डढेलोले हजारौं नागरिकलाई स्थानान्तरण गरिनु परेको छ भने करिब २०० घरमा क्षति पुगेको जनाइएको छ। त्यस्तै फ्रान्स र स्पेनमा समेत डढेलोका कारण मानवीय र भौतिक क्षति भएको रिपोर्ट आएको छ।

विज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण यस्ता डढेलोहरू अब वर्षेनि तीव्र, अनियन्त्रित र अधिक विनाशकारी हुँदै गइरहेका छन्। बढ्दो तापक्रम, लामो समयको खडेरी र चरम मौसमीय अवस्थाहरूले यस्ता विपद् सिर्जना हुने खतरा बढाइरहेको वैज्ञानिकहरू बताउँछन्।

ग्रीस सरकारले प्रभावित क्षेत्रमा उच्च सतर्कता जारी राखेको छ भने आगो नियन्त्रणका लागि सबै स्रोतहरू परिचालनमा ल्याइएको जनाएको छ। यस्तै अवस्थामा स्थानीय सरकार, उद्धारकर्मी र स्वयम्सेवकहरू दिनरात लागिपरेका छन्।

spot_img