
सिड्नी – अष्ट्रेलियाको सिड्नीमा ‘आध्यात्मिक आशीर्वाद’को बहानामा विशेषगरी चिनियाँ मूलकी वृद्ध महिलालाई लक्षित गरी गरिएको करोडौं ठगी प्रकरणमा अन्तर्राष्ट्रिय गिरोह संलग्न रहेको खुलासा भएको छ। न्यू साउथ वेल्स (NSW) प्रहरीले यस अपराध सञ्जाललाई ‘Fly-In Fly-Out’ (FIFO) अपराध समूहको रूपमा उल्लेख गर्दै कम्तीमा ५० जना संलग्न रहेको प्रारम्भिक निष्कर्ष सार्वजनिक गरेको छ।
प्रहरी अनुसन्धान अनुसार, समूहका सदस्यहरू चीनबाट अष्ट्रेलिया प्रवेश गरी केही समयमै लक्षित समुदायमा ठगी गरी फिर्ता हुने रणनीतिमा क्रियाशील थिए। गिरोहले जुलाई २०२३ देखि सिड्नीका विभिन्न क्षेत्रहरूमा यो गतिविधि संचालन गरेको जनाइएको छ।
ठगीको शैली र उद्देश्य
गिरोहले विशेषगरी चिनियाँ मूलका वृद्ध महिलालाई लक्षित गर्दै ‘परिवारमा आत्माको प्रकोप परेको’ भन्दै डर सिर्जना गर्दथ्यो। ती महिलालाई आफ्नो नगद, गहना वा बहुमूल्य सामग्री झोलामा राखेर ‘आशीर्वाद’ गर्न आवश्यक रहेको भन्दै विश्वास दिलाइन्थ्यो।
त्यसपछि ठगहरूले ती सामग्रीहरू सस्तो सामानसँग साटेर ‘आशीर्वाद गरिएको झोला’ भनेर पुनः हस्तान्तरण गर्थे र झोला खोल्न नहुने चेतावनी दिन्थे। पछि पीडितले झोला खोलेपछि मात्र ठगी भएको थाहा पाउँथे।

पक्राउ र क्षतिको विवरण
प्रहरीले हालै सिड्नी अन्तर्राष्ट्रिय विमानस्थलबाट ६३ वर्षीया एक महिलालाई पक्राउ गरेको छ। आरोप अनुसार, उनले गत महिनामात्रै पारामाट्टा क्षेत्रका एक ७७ वर्षीया महिलाबाट १ लाख ३० हजार अष्ट्रेलियन डलर बराबरको नगद तथा गहना ठगी गरेकी थिइन्।
उनीमाथि धोखाधडीमार्फत आर्थिक लाभ हासिल गरेको, अपराधिक समूहमा संलग्नता र चोरी सम्बन्धी अभियोगमा मुद्दा दायर गरिएको छ। उनलाई Mascot Police Station लगिएको हो र धरौटी अस्वीकार गर्दै Parramatta Local Court मा उपस्थित गराइएको छ।
त्यसैगरी, ६३ वर्षीय अर्का व्यक्ति Brisbane Airport मा चीन जान लाग्दा पक्राउ परेका छन् भने यसै गिरोहको एक सदस्य न्यूजिल्यान्डमा पनि हिरासतमा रहेको पुष्टि भएको छ।
विस्तारित प्रभाव र प्रहरीको अपिल
NSW प्रहरीले Ryde, Burwood, Parramatta, Hornsby लगायतका क्षेत्रबाट ८० भन्दा बढी उजुरी दर्ता भएको जनाएको छ। कुल ठगी रकम ३ मिलियन अष्ट्रेलियन डलरभन्दा बढी पुगेको अनुमान छ। प्रहरीको विश्वासमा यो संख्या अझ दोब्बर हुन सक्नेछ, किनभने धेरै पीडित लाज वा डरका कारण उजुरी दिन आएका छैनन्।
प्रहरी अधिकारी डिटेक्टिभ सुपरिन्टेन्डेन्ट गाइ मेगीले भने, “यो गिरोह अत्यन्त योजनाबद्ध र संगठित रूपमा काम गरिरहेको छ। धेरै पीडित डर वा लाजले बोल्न सकिरहेका छैनन्, तर हामी उनीहरूलाई संरक्षण र साथ दिन तयार छौं।”
उनले समुदायमा विशेषगरी युवाहरूलाई अपिल गर्दै भने, “कृपया आफ्ना अभिभावक वा वृद्ध परिवारजनलाई यस्तो किसिमको ठगीबारे जानकारी दिनुहोस्। अपरिचित व्यक्तिलाई घरमा ल्याउनु कहिल्यै हुँदैन।”
