
सिड्नी – अष्ट्रेलियामा घर किन्ने, अवकाश जीवन योजना बनाउने वा वित्तीय लक्ष्य हासिल गर्न लाखौं मानिसले पारिवारिक सम्पत्ति (उत्तराधिकार) मा आश्रित रहने प्रवृत्ति बढ्दो देखिएको छ। तर वित्तीय विशेषज्ञहरूले यस्तो रणनीति दीर्घकालीन रूपमा जोखिमपूर्ण हुने चेतावनी दिएका छन्।
अनलाइन तुलना साइट Finder ले हालै सार्वजनिक गरेको एक सर्वेक्षणअनुसार करिब ८.८ मिलियन अष्ट्रेलियाली निकट भविष्यमा आफ्ना परिवारबाट केही न केही सम्पत्ति प्राप्त हुने आशामा छन्। तीमध्ये ४३ प्रतिशत पुरुष र ४१ प्रतिशत महिला उत्तराधिकार प्राप्त गर्ने अपेक्षामा रहेको देखिएको छ।
सर्वेक्षण अनुसार हालको जीवनयापनको बढ्दो खर्च, लगातार उकालो लागेको घरको मूल्य र साना व्यवसायीहरूमा सुपरएनुएसनको अभाव जस्ता कारणले गर्दा १० जनामध्ये १ जना अष्ट्रेलियालीले आफ्नो आर्थिक लक्ष्य पूरा गर्न उत्तराधिकारमै निर्भर रहनुपरेको उल्लेख गरिएको छ।
त्यस्तै, पाँचमध्ये एक जनाले पारिवारिक सम्पत्तिले आर्थिक अवस्था उल्लेखनीय रूपमा सुधार्ने अपेक्षा गरेका छन्, यद्यपि उनीहरू त्यसमा पूर्ण रूपमा आश्रित भने छैनन्।
१२ प्रतिशत सहभागीले आफूले उत्तराधिकार पाउने भए पनि त्यसले आफ्ना योजनामा ठूलो परिवर्तन नल्याउने जनाएका छन्।
झण्डै १० प्रतिशतले पारिवारिक संरचना वा सम्बन्धका कारण कुनै सम्पत्ति प्राप्त नहुने अपेक्षा राखेका छन्, भने ५० प्रतिशतले आफ्ना परिवार उत्तराधिकार दिनसक्ने अवस्थामा नै नरहेको बताएका छन्।
Finder की व्यक्तिगत वित्त विज्ञ सारा मेगिन्सनले यसबारे टिप्पणी गर्दै भनिन्, “उच्च जीवनयापन खर्चका कारण अष्ट्रेलियालीहरू उत्तराधिकारलाई भविष्यको सुरक्षाको रूपमा हेर्न थालेका छन्, तर यस्तो सोच जोखिमपूर्ण हो।”
उनका अनुसार अझै नआएको पैसामा आधारित भएर योजना बनाउँदा महत्वपूर्ण निर्णयहरू ढिलो हुनसक्छन्, र यसले भ्रमपूर्ण आत्मविश्वास सिर्जना गर्न सक्छ।
“अचानक प्राप्त हुने सम्पत्ति योजना नहुँदा छिट्टै समाप्त हुन्छ,” भन्दै उनले उत्तराधिकारको अपेक्षा राख्नेहरूलाई निवेश, कर व्यवस्थापन र बजेटिङ सम्बन्धी विषयमा जानकार बन्न सुझाव दिइन्।
