एनआरएनए अष्ट्रेलियाको अध्यक्ष पदमा सन्तोष कुँवरको उम्मेदवारी, अभियानसहित दुई वर्षे कार्ययोजना सार्वजनिक

Advertisement

ब्रिस्बेन, अष्ट्रेलिया — आगामी गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको निर्वाचनलाई लक्षित गर्दै सन्तोष कुँवरले अध्यक्ष पदका लागि औपचारिक उम्मेदवारी घोषणा गरेका छन्। सन् २०२५–२०२७ कार्यकालको नेतृत्वका लागि आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै कुँवरले विस्तृत दुई वर्षे कार्ययोजना र एजेन्डा समेत सार्वजनिक गरेका छन्, जसमा आर्थिक सशक्तिकरणदेखि संस्थागत सुधार र सामाजिक उत्तरदायित्वसम्मका विषय समेटिएका छन्।

लगानी प्रवर्द्धन र आर्थिक पहुँचको प्राथमिकता

कुँवरले आफ्नो कार्यकालमा गैरआवासीय नेपाली समुदायको लगानी, उद्यमशीलता र आर्थिक संलग्नतालाई रणनीतिक रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उहाँले राज्य र संघीय सरकारबाट दुई मिलियन अष्ट्रेलियन डलरसम्मको अनुदान सुरक्षित गर्ने स्पष्ट योजना अघि सारेका छन्। त्यसका लागि एनआरएनए अष्ट्रेलियाको संरचनामार्फत अनुदान तथा साझेदारी टास्कफोर्स गठन गरिने पनि बताइएको छ।

बहुसांस्कृतिक साझेदारीदेखि परोपकारी अभियानसम्म

कुँवरले अष्ट्रेलियाको बहुसांस्कृतिक पहलकदमीहरूसँग सहकार्य गर्दै नेपाली समुदायको सहभागिता सुनिश्चित गर्ने योजना प्रस्तुत गरेका छन्। त्यसैगरी, एनआरएनए फाउन्डेसन को प्रयोगमार्फत सामाजिक सेवाका विभिन्न परोपकारी कार्य सञ्चालन गर्ने, दीर्घकालीन प्रभाव पार्ने कार्यक्रमहरूमा ध्यान केन्द्रित गर्ने एजेन्डा पनि उनले राखेका छन्।

व्यवसाय सञ्जाल, स्टार्टअप र नीति निर्माणमा सक्रियता

एनआरएन व्यवसाय सञ्जालमार्फत उद्यमशीलता प्रवर्द्धन गर्ने, नेपाली मूलका व्यवसायीलाई जोड्ने र सहकार्य गर्ने वातावरण बनाउने कुँवरको उद्देश्य छ। त्यसै गरी, लगानी सम्मेलन तथा स्टार्टअप मेन्टरसिप कार्यक्रमको आयोजना, प्रवासी नेपालीहरूको सशक्तिकरणका लागि नीति निर्माणमा प्रतिनिधित्व सुनिश्चित गर्ने लगायतका बुँदाहरू पनि उनको कार्ययोजनामा समावेश छन्।

समुदायसँगको प्रतिवद्धता र पारदर्शिता

कुँवरले आफ्नो उम्मेदवारीको औपचारिक घोषणासँगै भावी पोस्ट र भिडियोहरूमार्फत विस्तृत व्याख्या प्रस्तुत गरिने जानकारी दिएका छन्। उनले समुदायसँग निरन्तर सल्लाह, सुझाव र सहयोगको अपेक्षा राख्दै पारदर्शी नेतृत्वका लागि प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी निर्वाचन जुलाई २६ मा तोकिएको छ। उम्मेदवारहरूबीच नीति र दृष्टिकोणका आधारमा प्रतिस्पर्धा हुँदैगर्दा, सन्तोष कुँवरको रणनीतिक योजना र बहुआयामिक एजेन्डाले निर्वाचनको माहोललाई थप चासोपूर्ण बनाएको छ।

spot_img