ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा अब मानव जीवनका लागि अक्सिजनसरह आवश्यकता बनेको बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकअन्तर्गत उठेका प्रश्नहरूको जवाफ दिँदै उनले ऊर्जा केवल पूर्वाधारको विषय नभई समृद्ध राष्ट्र निर्माणको मेरुदण्ड भएको स्पष्ट पारे।
“ऊर्जा निर्यात र सदुपयोग मात्रै होइन, अब यो अक्सिजनसरह हाम्रो जीवनका लागि अनिवार्य भइसकेको छ,” मन्त्री खड्काले भने, “समृद्ध नेपालको आधार विद्युत् ऊर्जा हो भन्नेमा कुनै दुई मत छैन। त्यसैले दीर्घकालीन रूपमा विद्युतीय ऊर्जामा आत्मनिर्भर बनाउँदै ऊर्जा सुरक्षाको सुनिश्चितता गर्नु सबैको साझा कर्तव्य हो।”

दश वर्षमा २८,५०० मेगावाट उत्पादनको लक्ष्य
मन्त्री खड्काले आगामी १० वर्षभित्र २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित कार्य अघि बढिरहेको जानकारी दिए। त्यसमध्ये १३ हजार ५०० मेगावाट आन्तरिक खपतका लागि र बाँकी १५ हजार मेगावाट निर्यात प्रयोजनका लागि तोकिएको छ।
उनका अनुसार भारतमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने योजना छ भने बंगलादेशसँग ४० मेगावाट निर्यातको सम्झौता भइसकेको छ। बंगलादेशको माग र नेपालको उत्पादन क्षमतालाई ध्यानमा राखेर १५ हजार मेगावाटसम्म निर्यात गर्न सकिने अनुमान गरिएको छ।

९८.९ अर्ब डलर लगानी आवश्यक
सोही लक्ष्य हासिल गर्न सरकारलाई ९८ दशमलव ९ अर्ब अमेरिकी डलर बराबरको लगानी आवश्यक पर्ने मन्त्री खड्काले जानकारी दिए। उनले यस्तो लगानी सुनिश्चित गर्दै ऊर्जा क्षेत्रमा दीर्घकालीन योजना र कूटनीतिक समझदारी आवश्यक रहेको उल्लेख गरे।
मन्त्री खड्काले ऊर्जा क्षेत्रको समग्र विकासले मात्रै आर्थिक रूपान्तरण सम्भव हुने विश्वास व्यक्त गरे।





