इरानमाथि अमेरिकी आक्रमण विश्वयुद्ध निम्त्याउने दुष्प्रयास: वामपन्थी दलहरूको संयुक्त वक्तव्य

नेकपा माओवादी केन्द्रलगायतका वामपन्थी दलहरू र नागरिक समाजसँग सम्बन्धित संस्थाहरूले इरानमाथि अमेरिकी आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्। संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले सो आक्रमणलाई “विश्वयुद्ध निम्त्याउने दुष्प्रयास” र “गम्भीर युद्ध अपराध” को संज्ञा दिएका छन्।

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पत्रकारहरूसँग कुरा गर्दै पार्टीले इरानमाथि भएको अमेरिकी आक्रमणको विरोधमा औपचारिक वक्तव्य जारी गरेको जानकारी दिए। वक्तव्यमा भनिएको छ, “अमेरिकी साम्राज्यवादले आणविक हतियारको बहानामा इरानमाथि आक्रमण गरेको छ, जुन गम्भीर युद्ध अपराध हो।”

वक्तव्यमा वामपन्थी दलहरूले यस घटनालाई विश्वयुद्ध निम्त्याउने प्रयासका रूपमा चित्रित गरेका छन्। “अमेरिकी आक्रमणबाट विश्वव्यापी युद्ध आतंकको त्रास फैलिएको छ,” वक्तव्यमा उल्लेख छ।

spot_img

अघिल्लो वर्षको सन्दर्भ
वक्तव्यमा अघिल्लो वर्ष इजरायलद्वारा प्यालेस्टाइनमाथि गरिएको आक्रमणको पनि स्मरण गरिएको छ। त्यसबेला वामपन्थी दलहरूले गाजालगायतका क्षेत्रमा भएको नरसंहारको विरोधमा अभियान नै सञ्चालन गरेका थिए र प्यालेस्टिनी जनताप्रति ऐक्यबद्धता प्रकट गरेका थिए।

वक्तव्यमा भनिएको छ कि उक्त घटना सेलाउन नपाउँदै इजरायलले फेरि अमेरिकी उक्साहटमा इरानमाथि आक्रमण गरेको छ, जसले इरानको राष्ट्रिय स्वाधीनता र अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन गरेको छ।

संयुक्त वक्तव्यमा हस्ताक्षर गर्ने नेताहरू
संयुक्त वक्तव्यमाथि हस्ताक्षर गर्ने नेताहरूमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा (एकीकृत समाजवादी) का स्थायी समिति सदस्य बलराम बाँस्कोटा, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पवनमान श्रेष्ठ (पीभीएम), नेकपा (मसाल) का महासचिव मोहनविक्रम सिंह, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आहुती, नेकपा बहुमतका नेता कृष्णप्रसाद धमला, नेकपाका उपाध्यक्ष रामबहादुर भण्डारी र वामपन्थी बुद्धिजीवी निनु चापागाईं छन्।

Advertisement

शान्तिका लागि अपिल
वक्तव्यमार्फत अविलम्ब युद्धविरामको घोषणा गरी शान्तिपूर्ण संवादमार्फत समस्या समाधान गर्न अपिल गरिएको छ। साथै, संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशील सिद्धान्त र अन्तर्राष्ट्रिय कानुनहरूको सम्मान गर्दै विश्वशान्ति कायम राख्न सबै पक्षलाई आग्रह गरिएको छ।

वक्तव्यमा नेपाल सरकारलाई अमेरिकी र इजरायली आक्रमणको स्पष्ट रूपमा विरोध गर्न, स्वाधीन राष्ट्रहरूको पक्षमा दृढता पूर्वक उभिन र इरान तथा इजरायलमा रहेका नेपालीहरूको सुरक्षाका लागि तत्काल कूटनीतिक पहल गर्न पनि आग्रह गरिएको छ।

spot_img