कांग्रेसको चेतावनी: जबर्जस्ती भए पनि संसद चलाएरै छाड्छौं

नेपाली कांग्रेसले आज संसद सञ्चालन हुने बताएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले आजदेखि संसद जबर्जस्ती भए पनि सञ्चालन हुने दाबी गरेका छन् । संघीय संसद परिसरमा पत्रकारहरूसँग कुरा गर्दै प्रमुख सचेतक घिमिरेले धेरै दिन भएकाले यसलाई लम्ब्याएर लैजान नसकिने भन्दै आज संसद चल्ने दाबी गरेका हुन् ।

उनले भने ‘संसद चल्छ, संसदका क्रियाकलापहरू आजदेखि संसद कार्यसूचीमा प्रवेश गर्छ । धेरै दिन भयो, यसलाई लम्बाएर लैजान सकिँदैन । आम जनतामा पनि यसले राम्रो सन्देश दिएको छैन । एकदमै निहुँ खोज्ने हिसाबले विपक्षी दलबाट कुराहरू आएको छ । यसलाई सधैँ यही ढङ्गले अनिर्णयको बन्दी बनाउन सकिँदैन ।’

भिजिट भिसा प्रकरणमा विपक्षीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै जेठ १३ गतेदेखि संसद अवरोध गरिरहेका छन् । विपक्षीहरूले जेठ १५ गते बजेट प्रस्तुत गर्न दिए पनि त्यसपछि जेठ २० गतेदेखि बोलाइएका बैठक अवरोध गर्दै आएका छन् ।पछिल्लो समय प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले गृहमन्त्री लेखकको राजीनामाको अडान छोडेर भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्न जोड दिएको छ । छानबिन समिति बनाइने प्रतिबद्धता मात्रै आए पनि सदनको अवरोध खुलाउन माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी तयार रहेको बुझिएको छ ।

तर, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० भने गृहमन्त्री लेखकको राजीनामा र भिजिट भिसा प्रकरणमा छानबिन दुवै मागमा अडिग छ ।

Advertisement