सुदूरपश्चिम समाज भिक्टोरियाको अध्यक्षमा दिप चन्द, अन्य पदाधिकारीमा को-को भए चयन ?

सुदूरपश्चिम समाज भिक्टोरियाले आफ्नो नयाँ कार्यसमितिको घोषणा गरेको छ। भिक्टोरियाको मेरन्डास्थित चिली एभरेस्ट रेस्टुरेन्टमा सम्पन्न एक भव्य कार्यक्रममा दिप चन्दलाई नयाँ अध्यक्षमा चयन गरिएको छ। उक्त कार्यक्रममा विभिन्न समुदायका सदस्यहरू, पूर्व अध्यक्षहरू र समाजका विशिष्ट अतिथिहरूको उपस्थिती रहेको थियो।

समाजको नयाँ कार्यसमितिमा अध्यक्ष दिप चन्दका साथै उपाध्यक्षमा केशव पन्त, सचिवमा बिक्रम कुँवर र कोषाध्यक्षमा प्रदीप कुँवर चयन भएका छन्। त्यस्तै, सदस्यको रूपमा मुक्ता सिंह, मनोज अधिकारी, विनोद कुँवर, उदय देवकोटा, राशी सिंह ठाकुरी र थानेश्वर भट्ट निर्वाचित भएका छन्।

कार्यक्रममा समाजका पूर्व अध्यक्ष तथा एनआरएनए भिक्टोरिया डिपुटी कोर्डिनेटर महादेव धानुक, संस्थापक सदस्य सुबास कुँवर, न्याभ अध्यक्ष डा. याकिन्द्र तिमिल्सेनाको समेत उपस्थिति रहेको थियो। पूर्व अध्यक्ष नरेश रावलले नयाँ नेतृत्वलाई नेतृत्व हस्तान्तरण गर्दै आगामी कार्यकालका लागि सफलताको शुभकामना समेत व्यक्त गरे।

Advertisement

नयाँ अध्यक्ष दिप चन्दले आफ्नो सम्बोधनमा समाजभित्र एकता, सेवा र सहभागिताको महत्व औंल्याउँदै सुदूरपश्चिम समाजलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । युवादेखि ज्येष्ठ नागरिकसम्म सबैलाई समेट्ने योजनाको कुरा गर्दै आगामी दिनमा सबै सदस्यबीच सहकार्य र एकता कायम राख्ने विषयमा पनि उनले जोड दिएका छन् ।

समाजको सबै वर्गलाई समेट्दै सबैजना एक जुट भएर सेवा र सहभागिता बढाउनु पर्ने यो कदमले सुदूरपश्चिम समाजलाई यहाँको समाजमा चिनाउने मात्र नभएर , समाज भित्रको सम्बन्धलाई पनि अझ मजबुत बनाउदै लैजाने पनि चन्दले बताएका छन् ।

यसअघि समाजले विभिन्न सांस्कृतिक, सामाजिक र आर्थिक क्षेत्रहरूमा उल्लेखनीय काम गर्दै आएको छ । पूर्व अध्यक्ष नरेश रावलले कार्यकालका उपलब्धिहरूलाई स्मरण गर्दै नयाँ कार्यसमितिलाई चुनौतीपूर्ण कार्यमा सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन् ।

समाजले आगामी दिनमा भिक्टोरियामा बसोबास गर्ने सुदूरपश्चिमी नेपालीहरूको हितमा विभिन्न कार्यक्रम र सेवा अभियान सञ्चालन गर्ने योजना बनाएको छ।

spot_img