नेपाली विद्यार्थीहरूको लागि विश्वसनीय शैक्षिक परामर्शदाता संस्थाको रुपमा स्थापित फोर नेसन्स इन्टरनेशनल एजुकेशन एन्ड भिषा सर्भिसेज ले आफ्नो सेवा विस्तार गर्दै सिड्नीको ह्यारिस पार्कमा १९ औं शाखाको रूपमा नयाँ कार्यालय संचालनमा ल्याएको छ।
सन् २००६ देखि शैक्षिक परामर्श सेवामा निरन्तर र सक्रिय रहेको फोर नेसन्सले नेपाली समुदायको अधिक जनसंख्या भएको ग्रानभिल अर्बन क्षेत्रलाई लक्षित गर्दै यो शाखा स्थापना गरेको हो। हयारिस पार्क क्षेत्रमा नेपाली र भारतीय समुदायको बाक्लो उपस्थिति रहेको छ, जहाँ करिब एक सय भारतीय र चारवटा नेपाली रेष्टुरेन्टहरु संचालन हुदै आएका छन्।
नयाँ शाखाको उद्घाटन अस्ट्रेलियाका प्रख्यात शैक्षिक व्यवसायी तथा परामर्शदाताहरूको उपस्थितिमा गरिएको थियो। उद्घाटन समारोहमा फोर नेसन्सका निर्देशक तथा अस्ट्रेलियाली शैक्षिक परामर्शदाताहरुको छाता संगठन ECAA का अध्यक्ष कोमलराज पाठकले शैक्षिक परामर्श एक संवेदनशील विषय भएको जुन विद्यार्थीको भविष्यसँग प्रत्यक्ष जोडिएको हुनाले अनुभवी परामर्शदाता र दिगो मार्गदर्शनमार्फत नेपाली तथा दक्षिण एशियाली विद्यार्थीहरुलाई लक्षित गर्दै ह्यारिस पार्कमा सेवा सुरुवात गरेको बताएका छन् ।

नेपालमा १० वटा, भारतमा ५ र भियतनाममा १ शाखा सञ्चालनमा रहेका फोर नेसन्सका अस्ट्रेलियामा सिड्नी र मेलवर्नमा परामर्श केन्द्रहरु छन्। नयाँ कार्यालयमार्फत नेपाली विद्यार्थीहरुले आफ्नै मातृभाषामा सजिलो र विश्वासिलो माध्यमबाट परामर्श प्राप्त गर्ने अपेक्षा गरिएको छ।
विद्यार्थीको हैसियतमा अस्ट्रेलिया आउँदा सही मार्गदर्शनको अभावमा थुप्रै समस्याहरु आफुले भोग्नुपरेको र नयाँ विद्यार्थिहरुले त्यस्ता कठिनाइ भोग्न नपरोस् भन्ने उद्देश्यले यो सेवा सुरुवात गरिएको फोर नेसन्सका संस्थापक मन खत्रीले आफ्नो विगतका दिनहरू सम्झिँदै भनेका छन् ।
अस्ट्रेलियामा हाल नेपाली स्वामित्वमा करिब १०० वटा उच्च शिक्षाका कलेज तथा भोकेसनल संस्थानहरू सञ्चालनमा छन्। सिड्नी आसपासमा मात्र करिब ५० जति कलेजमा नेपालीको विद्यार्थीहरुको संलग्नता रहेको देखिन्छ। यिनै तथ्यांकहरुले आधारमा नेपाली विद्यार्थीहरुका लागि अस्ट्रेलिया प्रमुख गन्तव्य बन्दै गएको पुष्टी हुन् आएको छ , र त्यही मागलाई सम्बोधन गर्दै फोर नेसन्सले आफ्नो उपस्थिति थप बलियो बनाउँदै लगेको छ।
