अष्ट्रेलियाका न्यूनतम पारिश्रमिकमा काम गर्दै आएका लाखौं श्रमिकहरूका लागि आगामी जुलाई १ बाट तलबमा ३.५ प्रतिशतको वृद्धि हुने भएको छ। फेयर वर्क कमिसनले आफ्नो वार्षिक समीक्षा पूरा गर्दै यस्तो निर्णय गरेको हो, जसले मुद्रास्फीतिपछिको वास्तविक आयमा सुधार हुने आशा गरिएको छ।
यो निर्णयअनुसार अब न्यूनतम तलब प्रति घण्टा २४.९५ अस्ट्रेलियन डलर र साप्ताहिक ९४८ .७० डलर हुने छ — जुन पूर्ण समय (३८ घण्टा) काम गर्ने श्रमिकका लागि लागू हुनेछ। हाल अष्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर २.४ प्रतिशत रहेको सन्दर्भमा यो वृद्धिलाई श्रमिकको खरिद शक्ति सुदृढ बनाउने कदमको रूपमा हेरिएको छ।
कमिसनका अनुसार यस वृद्धिबाट सबैभन्दा धेरै लाभ पाउने समूहमा महिला ,पार्टटाईम ,श्रमिक र क्याजुअल काममा संलग्न श्रमिकहरु पर्छन्। यी श्रमिकहरू प्रायः होटल र खानपान सेवा, खुद्रा व्यापार, स्वास्थ्य र सामाजिक सेवा तथा प्रशासनिक क्षेत्रमा केन्द्रित छन्।

फेयर वर्क कमिसनको तथ्यांकअनुसार न्यूनतम अवार्ड तलबमा आश्रित श्रमिकहरूले अष्ट्रेलियाको कुल तलब खर्चको केवल १०.५ प्रतिशत मात्र ओगटेका छन्। सन् २०२१ यता श्रमिकको वास्तविक तलब — अर्थात् मुद्रास्फीतिपछिको मूल्य — करिब ४.५ प्रतिशतले घटेको कमिसनले जनाएको छ । यसपटकको निर्णयलाई यस गिरावटलाई उल्टाउने कोशिसको रूपमा हेरिएको छ, किनभने हाल मुद्रास्फीति दर पुनः रिजर्भ बैंकको लक्षित २–३ प्रतिशतको दायरामा फर्किएको छ।
“यदि अहिले सुधार गरिएन भने, न्यूनतम तलब प्रणालीमै मूल्य घट्ने स्थायी जोखिम रहन्छ, जसले कम तलबमा जीवनयापन गरिरहेका समुदायमा प्रतिकूल असर पुर्याउन सक्छ।”कमिसनले चेतावनी पनि दिएको छ ।
यो निर्णय श्रमिक युनियन र उद्योग समूहहरूको फरक मागबीचको सन्तुलन मानिएको छ। अष्ट्रेलियन काउन्सिल अफ ट्रेड युनियन्स (ACTU) ले ४.५ प्रतिशत तलब वृद्धिको माग गरेको थियो भने, उद्योग क्षेत्रका समूहहरूले २.५ प्रतिशतमा सीमित राख्न आग्रह गरेका थिए।
ACTU महासचिव सैली म्याकम्यानसले फेयर वर्क कमिसनको निर्णयलाई “उत्कृष्ट उपलब्धि ” भन्दै स्वागत गरेकी छन्। उनका अनुसार, “यो वृद्धि मुद्रास्फीतिभन्दा माथि छ, जसको अर्थ श्रमिकहरू फेरि आर्थिक रूपमा अगाडि बढ्न थालेका छन्। “
यद्यपि यो वर्षको वृद्धि गत वर्षको ३.७५ प्रतिशतभन्दा केही कम हो, कमिसनले यसलाई दीर्घकालीन रूपमा स्थानीय तर्फका सकारात्मक संकेतका रूपमा व्याख्या गरेको छ।





