प्राविधिक समस्याले बिजुली अवरुद्ध भए पनि फेरि लोडसेडिङ नहुने विद्युत् प्राधिकरणको भनाइ

नेपाल विद्युत् प्राधिकरणले ४०० केभी ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनको दुवै सर्किटमा समस्या आउँदा बिहीबार साँझ बिजुली अवरुद्ध भए पनि लोडसेडिङ सुरु नभएको जनाएको छ। प्राधिकरणका अनुसार शुक्रबार विद्युत् प्रणाली सञ्चालन विभागमा पत्रकार सम्मेलन गरी प्राविधिक समस्या भएको र नेपालमा फेरि लोडसेडिङ सुरु नहुने जनाएको हो। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ‘इन्भर्टर र मैनबत्तीको दिन आए’ भन्दै सामाजिक सञ्जालमा आएको अभिव्यक्तिमा कुनै पनि सत्यता नरहेको बताए।

‘मौसमजन्य गतिविधिका कारण विद्युतिय संरचनामा भएको नोक्सान तथा अन्य प्राविधिक समस्याका कारण सिर्जना भएको प्रतिकूल अवस्थालाई लोडसेडिङसँग जोडेर “अब इन्भर्टर र मैनबत्तीको दिन आए” भन्दै सामाजिक सञ्जालतिर अभिव्यक्त भनाइमा अलिकति पनि सत्यता नरहेको र अब नेपालमा फेरि पनि लोडसेडिङ सुरु हुने दिन नआउने व्यहोरा आम सरोकारवालालाई जानकारी गराउँदछौं,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

Advertisement

प्राधिकरणका अनुसार बिहीबार साँझ ५:३५ देखि ८ बजेसम्म देशका अधिकांश ठाउँको विद्युत् आपूर्तिमा समस्या भएको थियो। हावाहुरीका कारण ढल्केबर–मुजफ्फरपुर ४०० केभी डबल सर्किट लाइनको दुवै सर्किटमा एकै साथ समस्या आउँदा नेपालमा उक्त लाइनमार्फत् आपूर्ति हुँदै आएको विद्युत् अवरुद्ध भएको प्राधिकरणले जनाएको छ।

‘दुवै सर्किटमा आएको समस्या तत्काल समाधान नहुँदा नेपालको मात्र प्रणाली सञ्चालन गरी विद्युत् आपूर्ति व्यवस्था मिलाउन कोसिस गरिएको तर रातको समयमा बढेर आएको विद्युत् लोडको कारण स्थिर आपूर्ति व्यवस्था मिलाउने प्रयास असफल हुन पुगेको,’ विज्ञप्तिमा उल्लेख छ।

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यका अनुसार रक्सौल–परवानीपुर, मनैया–सम्पतिया, कुशहवा–कटैया १३२ केभी प्रसारण लाइनमार्फत् नेपालतर्फको विद्युत् गृहहरू सञ्चालन गरी आपूर्ति व्यवस्था मिलाउन कोसिस गरिएको थियो।

बेलुकाको समयमा नेपालतर्फ न्यून उत्पादनका कारण सिस्टम स्टेबल नभई बिजुली ट्रिपिङ भइरहँदा विद्युत् प्रणाली सञ्चालन गर्न नसकिएको उनले बताए। बेलुका ८ बजेर ८ मिनेटमा ढल्केबर–मुजफ्फरपुर ४०० केभी लाइनको समस्या समाधान भएको र लाइनको सर्किट–२ सञ्चालनमा आएपछि क्रमशः देशभर विद्युत् आपूर्ति सहजपूर्ण भएको प्राधिकरणले जनाएको छ।

‘ढल्केबर पश्चिमको १३२ तथा अन्य १३२, ३३ र ११ केभी लाइनहरूमा समेत रुखहरू ढलि, पोल तथा कन्डक्टरमा क्षति पुगेको कारण सबै ठाउँमा एकै समयमा विद्युत् आपूर्ति गर्न सकिएन,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

विद्युत् प्रणालीमा बेला–बेलामा देखापर्दै आएको प्राविधिक समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न प्राधिकरण सधैँ लागिपरेको जनाएको छ। आउँदो दिनमा यस्ता समस्या फेरि दोहोरिन नदिन तत्कालीन, मध्यमकालीन र दीर्घकालीन योजना बनाई काम गरिने समेत प्राधिकरणले जनाएको छ।