आगामी जुलाई २६मा गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको चुनावको मिति तय भएको छ । (एनआरएनए) अष्ट्रेलियाले सिड्नीमा आयोजित पत्रकार सम्मेलनमा आउदो जुलाई २६मा निर्वाचन हुने मिति तोकिएको हो । संघका अध्यक्ष अनिल पोखरेलले निर्वाचन मिति सार्वजनिक गर्दै संघले अपनाउने नयाँ संरचना र नीतिहरूबारे जानकारी दिनु भएको थियो ।
संघले निर्वाचन प्रक्रिया सहज र पारदर्शी बनाउने उद्देश्यसहित डिल्ली ढकाललाई राष्ट्रिय निर्वाचन समिति संयोजकमा चयन गरेको छ भने राजु उपाध्यायलाई उपसंयोजकको जिम्मेवारी दिइएको छ। साथै, अष्ट्रेलियाका विभिन्न राज्य तथा क्षेत्रहरूमा निर्वाचन व्यवस्थापनको लागि संयोजकहरू तोकिएका छन्। न्यू साउथ वेल्समा राजु मानन्धर, भिक्टोरियामा हेम दुलाल, क्वीन्सल्याण्डमा सुरेश खत्री, साउथ अष्ट्रेलियामा अंकुर उपाध्याय, वेष्टर्न अष्ट्रेलियामा रविन वर्तौला, तास्मानियामा कञ्चन अर्याल, एसिटीमा कृष्ण सुवेदी र नर्दन टेरेटोरीमा दिनेश सापकोटालाई संयोजकको जिम्मेवारी दिइएको छ।
यो निर्वाचनसँगै एनआरएनए अष्ट्रेलियाले आफ्नै संरचना र प्रणालीमा केही महत्वपूर्ण सुधारहरू गरेको छ । अब उपाध्यक्षहरूको चयन राज्य संयोजकहरूको माध्यमबाट हुने पुरानो प्रणाली हटाइएको छ। सट्टामा, अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्षजस्ता प्रमुख पदहरूमा सिधै निर्वाचन हुने व्यवस्था गरिएको जनाएको छ ।
कार्यसमितिको सुदृढीकरणका लागि बोर्ड सदस्यको संख्या पनि १७ बाट बढाएर १९ पु¥याइएको छ। नयाँ थपिएका पदहरूमा एक अतिरिक्त उपाध्यक्ष र एक ‘प्रिन्सिपल ग्रान्ट अफिसर’ को पद समावेश गरिएको संघले जनाएको छ । जसले संघको प्रशासनिक र आर्थिक पक्षलाई अझ प्रभावकारी रूपमा अगाडी बढाउने अपेक्षा गरिएको छ ।
सदस्यता व्यवस्थापनतर्फ पनि संघले केही नीतिगत सुधार ल्याएको छ । साधारण सदस्यताको शुल्क २५ डलरबाट ३० डलरमा समायोजन गरिएको छ । भने आजीवन सदस्यता शुल्क २सय५० डलर कायम गरिएको छ । अध्यक्ष पोखरेलले सदस्य विवरण अद्यावधिकको महत्वमा जोड दिँदै, आजीवन सदस्यहरूले हरेक निर्वाचन अघि आफ्नो व्यक्तिगत विवरण अपडेट गर्नु पर्ने आवश्यकता रहेको स्पष्ट गर्नु भयो । यसले सदस्यहरूको ठेगाना वा सम्पर्क परिवर्तन भएमा निर्वाचन प्रक्रियामा सहजता ल्याउनेछ ।
एकै क्रेडिट कार्ड प्रयोग गरेर धेरै सदस्यता बनाउने प्रवृत्तिलाई नियन्त्रण गर्न संघले पहिलेदेखि लागू गर्दै आएको “एक कार्डबाट अधिकतम चार सदस्यता” को सीमा यथावत राखिएको छ। निर्वाचन आयोगले यो नीतिलाई अझ कडाईका साथ कार्यान्वयन गर्ने स्पष्ट संकेत दिएको छ।
संघले आशा व्यक्त गरेको छ कि नयाँ सुधार र पारदर्शी व्यवस्थापनसहितको यो निर्वाचन अष्ट्रेलियाभर रहेका नेपाली समुदायको विश्वास, सहभागिता र समान अवसरमा आधारित हुनेछ।
