लेबर पार्टीको सरकार द्धारा ६० हजार कर्मचारीको तलब वृद्धि गर्ने निर्णय

क्यानबेरा:हालै अष्ट्रेलियमा सम्पन्न संघीय निर्वाचनवाट निर्वाचित लेबर पार्टीको सरकारले Age Care क्षेत्रमा ६० हजार कर्मचारीको तलब वृद्धि गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री एन्थोनी अल्बनीजीको नेतृत्वमा अष्ट्रेलियाको लेबर पार्टी पुनः सत्तामा फर्किएपछि सामाजिक सेवा क्षेत्रमा विशेष ध्यान दिँदै कर्मचारीको तलब वृद्धि गर्ने निर्णय गरेको हो ।

नयाँ सरकारको यो निर्णयले अष्ट्रेलियामा रहेका नेपाली समुदाय तथा अध्ययनको उद्देश्यले आउन चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि लाभ हुने संकेत गरेको छ । किनकि यो क्षेत्र नेपालीहरूको रोजाइमा परेको एक प्रमुख रोजगारीको माध्यम भएको बताइएको छ । 

नयाँ बजेटमा कर प्रणालीमा पनि महत्वपूर्ण परिवर्तन गरिने सरकारको योजना रहेको जनाएको छ । करदाताहरूले अब वार्षिक रुपमा कर तिर्दा १हजार अष्ट्रेलियन डलरसम्मको छुट पाउने व्यवस्था गरिनेछ । साथै,सन् २०२७ सम्म आयकर दरलाई घटाएर १४ प्रतिशतमा झार्ने लक्ष्य समेत तय गरिएको छ । जसले मध्यम वर्गीय नेपाली परिवारहरूलाई राहत दिने विश्वास गरिएको छ ।

उपभोक्ताको आर्थिक भार कम गर्ने उद्देश्यसहित सरकारले प्रत्येक घरधुरीलाई सन् २०२५ को अन्त्यसम्म १ सय ५० अष्ट्रेलियन डलर बराबरको बिजुली रिबेट प्रदान गर्ने घोषणा गरेको छ । यस योजना अन्तर्गत विद्यार्थी भाडामा बस्ने परिवार तथा न्यून आय भएका व्यक्तिहरू प्रत्यक्ष लाभान्वित हुनेछन ।

सरकारले सम्पत्ति क्षेत्रमा पनि केही कडाइ गर्ने निर्णय गरेको छ । अबदेखि दुई वर्षसम्म विदेशी नागरिक तथा अस्थायी भिसाधारीहरूलाई तयारी घर (existing home) खरिदमा रोक लगाइनेछ । सरकारले यस कदमबाट घरको मूल्यमा सन्तुलन ल्याउने र दीर्घकालीन बसोबास गर्ने व्यक्तिहरूलाई घर किन्ने अवसर वृद्धि हुने अपेक्षा गरेको छ ।

अन्तर्राष्ट्रिय शिक्षाको क्षेत्रमा समेत सरकारले ठूलो पहल लिँदै प्रत्येक वर्ष २ लाख ७० हजार अन्तर्राष्ट्रिय विद्यार्थी अष्ट्रेलिया भित्र्याउने नीति ल्याएको छ । यसले नेपाली विद्यार्थीहरूलाई अष्ट्रेलियामा उच्च शिक्षा हासिल गर्ने अवसर थप खुला बनाउने सरकारी अधिकारीहरुको दाबी छ ।