काठमाडौं । विदेश भिसाका नाममा ठगी गर्ने गिरोहका दुई सदस्यलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । ठगीमा संलग्न रहेको अभियोगमा उनीहरूलाई काठमाडौं महानगरपालिका २७ स्थित सुन्धाराबाट नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेकाहरूमा भक्तपुर, मध्यपुर थिमी नगरपालिका १ बस्ने तथा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका २ घर भएका २० वर्षीय विशाल घिमिरे र रौतहटको गरुडा नगरपालिका ४ घर भई हाल काठमाडौंको सुन्धारामा बस्दै आएका १८ वर्षीय किशोर रहेका छन् ।
प्रहरीका अनुसार, उनीहरूले अमेरिका विद्यार्थी भिसामा जान एक दिनको लागि बैंक खातामा ६१ लाख रुपैयाँ देखाउनु पर्ने भन्दै एक व्यक्तिलाई झुक्याएका थिए । पीडितलाई विभिन्न प्रलोभनमा पारेर उक्त रकम आफ्नो खातामा ट्रान्सफर गर्न लगाई, त्यसपछि रकम अन्य व्यक्तिका खातामा सारेर सम्पर्कविहीन भएका थिए ।
पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दै उनीहरूलाई पक्राउ गरेको हो । हाल उनीहरूलाई ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
