राजधानी क्यानबेरामा पहिलो पटक आयोजना गरिएको Moneyquest Canberra Nepalese Premier League (CNPL) २०२५ को उपाधि Success Strikers ले उचाल्न सफल भएको छ।८ हप्ता लामो र क्यानबेराका नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको उक्त प्रतियोगिता अन्ततः आइतवार सम्पन्न रोमाञ्चक फाइनलसँगै समापन भएको हो।
Hughes Oval मैदानमा भएको फाइनलमा, काठमाडौं किङ्सले टस जितेर ब्याटिङ रोज्दै निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १९१ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। टिमका लागि बसन्त भट्टले ४२ बलमा ६५ रन बनाउँदै आक्रामक इनिङ खेलेका थिए।
जवाफी ब्याटिङमा उत्रिएको सक्सेस स्ट्राइकर्सले एकपटक खेल हातबाट फुत्कन लागेको देखिएको थियो, तर अन्तिम क्षणमा कप्तान आशिष देवकोटाले खेलको रफ्तार परिवर्तन गरे। उनले केवल २३ बलमा ७० रनको विस्फोटक योगदान दिए। खेलको मध्य चरणमा जनक पचै र राज तिमल्सिनाको आक्रामक ब्याटिङले सक्सेस स्ट्राइकर्सलाई लक्ष्य नजिक पुर्याउने बलियो आधार तयार गर्यो। त्यसपछि, खेलको अन्तिम ओभरको तेस्रो बलमा सुमित रिमालले विजयी छक्का प्रहार गर्दै टिमलाई ४ विकेटको शानदार जित दिलाए।
प्रतियोगिता भरी दर्शकहरूको उत्साह, समुदायको सक्रियता र खेलाडीहरूको समर्पणले क्यानबेरामा नेपाली क्रिकेटको क्रेज नयाँ उचाइमा पुगेको देखिएको छ। सप्ताहौंदेखि सामाजिक सञ्जालदेखि मैदानसम्म नेपाली क्रिकेटप्रेमीहरूको सहभागिता, उत्साह र समर्थनले प्रतियोगिता भव्य र ऐतिहासिक बनाएको थियो। विजेता सक्सेस स्ट्राइकर्सलाई आयोजक नेप्लिज क्रिकेट एसोसिएसन क्यानबेराले अष्ट्रेलियन डलर ६००० नगद, ट्रफी र सम्मानपत्र प्रदान गरेको छ। काठमाडौं किङ्सलाई उपविजेताको रूपमा सम्मान गरिएको थियो।

उपाधिसँगै सक्सेस स्ट्राइकर्सले आयोजक नेप्लिज क्रिकेट एसोसिएसन क्यानबेराबाट अष्ट्रेलियन डलर ६००० नगद पुरस्कार र चम्किलो ट्रफी प्राप्त गर्यो। प्रतियोगितामा काठमाडौं किङ्स, दाजुभाइ वारियर्स, जी.एम. रोयल्स लगायत चार टिमहरूको सहभागिता रहेको थियो। ८ हप्तासम्म चलिरहेको यो लिगले क्यानबेराको नेपाली समाजमा खेलकुदप्रतिको लगाव र क्रिकेटको क्रेजलाई नयाँ शिखरमा पुर्याएको छ। खेल मैदानमा दर्शकहरूको उपस्थिति, सामाजिक सञ्जालमा भएको सक्रियता र खेलाडीहरूको जोशले यो प्रतियोगिता केवल खेल मात्र नभई प्रवासमा रहेका नेपालीहरूको साझा उत्सव बनेको देखिएको थियो।
प्रतियोगिताको समापन समारोहमा आयोजक नेप्लिज क्रिकेट एसोसिएसन क्यानबेराले आउँदो गर्मी सिजनमा ‘समर रेड बल’ क्रिकेट प्रतियोगिता आयोजना गर्ने र अर्को छुट्टै प्रतियोगिताका लागि कुल AUD $10,000 पुरस्कार राशी व्यवस्था गरिने घोषणा गरेको छ। यसले क्यानबेरामा नेपाली क्रिकेटलाई निरन्तरता दिने मात्र होइन, नयाँ पुस्तामा खेलप्रतिको झनै रुचि र अवसरहरू सिर्जना गर्ने विश्वास गरिएको छ।