क्यानबेरा,अष्ट्रेलियाको विपक्षी दलका नेता पीटर डटनले आवास संकट समाधान गर्नको लागि अन्तर्राष्ट्रिय विद्यार्थी संख्या सम्वन्धि एक विवादास्पद योजना प्रस्ताव राख्नु भएको छ ।
मेलबर्नमा भएको एक पत्रकार सम्मेलनमा बोल्दै डटनले कूल विद्यार्थीहरूको २५ प्रतिशत सम्म अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्यामा सीमा राख्ने प्रस्ताव गर्नु भएको हो । यो कदम युवाहरुका लागि घर खरिद गर्न सहज बनाउनका लागि महत्त्वपूर्ण कार्य हुने नेता पीटर डटनले बताउनु भयो ।
यस योजनाअनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या हरेक वर्ष ३० हजार घटाउने प्रस्ताव गरिएको छ । यदी लागू गरिएमा कोलिशन पार्टी ले २ लाख ४० हजार विद्यार्थीहरूलाई भर्ना गर्ने लक्ष्य राखेको छ ।
डटनले यो नीति अत्यधिक आप्रवासनलाई नियन्त्रण गर्नका लागि महत्त्वपूर्ण कदम भएको बताउनु भयो ।जसले आवास संकटलाई गहिरो बनाएको छ । योजनामा विद्यार्थी भिसा शुल्क पनि बढाएर $५,००० र $२,५०० राख्ने प्रस्ताव छ। साथै, अध्ययनपछि अष्ट्रेलियामा बसोबास र काम गर्नका लागि दिइने भिसा पुनरावलोकन गरिनेछ।
यो योजनालाई आलोचना गर्दै ग्रीन पार्टी र विश्वविद्यालय अष्ट्रेलियाले भनेका छन् कि अन्तर्राष्ट्रिय विद्यार्थीहरू आवास संकटको मुख्य कारण होइन । उनीहरूको अनुसार वास्तविक समाधान सार्वजनिक आवास निर्माणमा केन्द्रित हुनुपर्ने हो । विद्यार्थीहरूको संख्या घटाउनमा होइन ।
व्यापार परिषदले पनि यस योजनालाई विरोध गर्दै अष्ट्रेलियाको निर्यात क्षेत्रलाई हानी पुर्याउने चेतावनी दिएको छ । यद्यपि डटनको योजना नागरिकहरूको प्राथमिकता राख्नका लागि सहमति प्राप्त गर्न सक्छ तर यसले अष्ट्रेलियाको अर्थतन्त्र र अन्तर्राष्ट्रिय प्रतिष्ठामा नकरात्मक प्रभाव पार्ने आलोचकहरूको धारणना रहेको छ ।






