अष्ट्रेलियामा वृद्धाहरुलाई भर्चुअल नर्सिङ सेवा दिन भर्चुअल नर्सिङ फ्रेमवर्क सहितको बजेट घोषणा

क्यानबेरा,अष्ट्रेलियन सरकारले स्वास्थ्य सेवा प्रविधि मैत्री बनाउदै वृद्धाहरुलाई भर्चुअल नर्सिङ सेवा दिन भर्चुअल नर्सिङ फ्रेमवर्क विकास गर्ने कार्यक्रम सहितको बजेट छुटाएको घोषणा गरेको छ ।

वृद्धाश्रमहरूमा स्वास्थ्य सेवा प्रविधिमैत्री बनाउन $३१.२ मिलियनको बजेट छुट्याउँदै भर्चुअल नर्सिङ फ्रेमवर्क विकास गर्ने अष्ट्रेलियन सरकारले घोषणा गरेको हो । प्रविधिमा आधारित स्वास्थ्य सेवाको विस्तार गर्दै ग्रामीण र दुर्गम क्षेत्रमा पनि गुणस्तरीय स्वास्थ्य सुविधा पुर्याउने लक्ष्य अष्ट्रेलियन सरकारले लिएको जनाएको छ ।

 सन् २०२५ को मार्चदेखि लागू भएको यो कार्यक्रम २०२७ को जूनसम्म सञ्चालन हुनेछ । विशेष गरी ग्रामीण तथा दुर्गम क्षेत्रका वृद्धाश्रमहरूलाई लक्षित गर्दै भर्चुअल माध्यमबाट नर्सिङ सेवाको गुणस्तर सुधार गर्ने योजना बनाइएको छ । वृद्धाश्रमहरूलाई हेरचाह गर्ने नर्सहरूको अभाव पूर्ति गर्दै डिजिटल माध्यमबाट सहज स्वास्थ्य सेवा उपलब्ध गराउने यो कदमलाई भविष्यको स्वास्थ्य सेवाको नयाँ मोडेल का रूपमा हेरिएको चिकित्सकहरुले जनाएका छन् ।

नयाँ फ्रेमवर्कअन्तर्गत, वृद्धाश्रमका कर्मचारीहरू र सेवाग्राहीहरूले विशेषज्ञ नर्सहरूको भर्चुअल सहायता प्राप्त गर्न सक्नेछन । यसले अस्पतालमा जानुपर्ने अवस्थालाई न्यून गर्ने र वृद्धाश्रमभित्रै उत्कृष्ट स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ । यद्यपि, भर्चुअल नर्सिङले प्रत्यक्ष हेरचाहको स्थान लिने छैन, बरु भौतिक सेवासँग मिलेर काम गर्ने डिजिटल सहयोगीका रूपमा रहनेछ ।

भर्चुअल हेल्थकेयरको विकाससँगै स्वास्थ्य क्षेत्रमा नयाँ अवसरहरू खुल्ने अनुमान गरिएको छ । डिजिटल हेल्थ, टेलिमेडिसिन, र भर्चुअल केयर सेवामा दक्ष नर्सहरूको माग बढ्ने भएकाले नर्सहरूका लागि थप तालिम र नयाँ रोजगारीका सम्भावना देखिएको छ । साथै, टेलिहेल्थ, प्रविधि–आधारित परामर्श, र अनलाइन क्लिनिकल सपोर्ट जस्ता क्षेत्रमा विशेषज्ञता हासिल गर्न चाहने स्वास्थ्यकर्मीहरूलाई विशेष प्रशिक्षण उपलब्ध गराउने तयारी भइरहेको छ ।

वृद्धाश्रममा भौगोलिक मात्र नभई भाषिक तथा सांस्कृतिक विविधता पनि रहने भएकाले, विभिन्न भाषा बोल्ने तथा फरक पृष्ठभूमिबाट आएका नर्सहरूका लागि पनि यो योजना अवसरपूर्ण हुने अनुमान गरिएको छ । विशेष गरी गैर–अङ्ग्रेजी भाषी वृद्धहरूको सहजताका लागि बहुभाषिक स्वास्थ्यकर्मीहरूको भूमिकामा वृद्धि हुन सक्ने देखिएको छ ।