काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किने भएका छन् ।
लामिछानेलाई पार्टीको जिम्मेवारीमा फर्काउन रास्वपाले सोमबार अपराहन्न ३ बजे केन्द्रीय समितिको विशेष बैठक बोलाएको छ । सोमबार नै दोस्रो बैठकको नेतृत्व लामिछानेले गर्ने रास्वपाले जानकारी दिएको छ ।
लामिछाने पक्राउ परेपछि मंसिर १० गते महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति बैठकको सभापतित्व उपसभापति अर्यालले गरेका थिए । शनिबार बसेको सचिवालय बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो ।
सहकारी ठगीको आरोपमा चार जिल्ला अदालतमा मुद्दा झेलिरहेका लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए । पुस ८ गते बसेको रास्वपाको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद अर्याललाई दिने निर्णय गरेको थियो ।
सरकारले रविविरुद्ध कास्कीसहित काठमाडौँ, रुपन्देही, चितवन जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । पर्सा जिल्लामा अनुसन्धान भइराखेकाले अहिलेसम्म मुद्दा दायर गरेको छैन । लामिछाने चार जिल्ला अदालतबाट कुल दुई करोड ७९ लाख धरौटी जम्मा गरेर हिरासत बाहिर रहेका छन् ।






