एडिलेड, अष्ट्रेलिया – नेपाली कला, संस्कृति र पहिचान प्रवर्द्धन गर्ने नेपाल फेस्टिवल २०२५ एडिलेडमा भव्य रूपमा सम्पन्न भएको छ। आइतबार सम्पन्न फेस्टिवलमा करिब १५ हजार दर्शक सहभागी भएका थिए।
३६ डिग्रीको उच्च तापक्रमका बाबजुद नेपाली तथा अन्य समुदायका मानिसहरूले नेपाल फेस्टिवलमा उत्साहजनक सहभागिता जनाएका थिए । कार्यक्रममा नेपाली गीत-संगीत, नृत्य, परम्परागत पोशाक र खानाका परिकार विशेष आकर्षण रहेको थियो ।
नेपालका लागि अष्ट्रेलियाका राजदूत सहित साउथ अष्ट्रेलियाकी बहुसांस्कृति तथा पर्यटनमन्त्री, विपक्षी दलका नेता, एनआरएनए अष्ट्रेलियाका पदाधिकारी तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको फेस्टिवल औपचारिक रूपमा उद्घाटन गरिएको थियो।

सांगीतिक प्रस्तुतिमा कन्दरा ब्यान्डको ‘हिट’ गीतहरूले माहोल तताएको थियो भने गायक विवेक श्रेष्ठको देशभक्तिपूर्ण प्रस्तुति, गायक शिव परियार र गायिका समीक्षा अधिकारीका गीतहरूले दर्शकहरूलाई झुमाएका थिए। नेपालका विभिन्न भाषामा गीत तथा नृत्य प्रस्तुत गरिएको थियो।

नेपाल फेस्टिवलको अघिल्लो चरणमा एडिलेडको पिङ्की फ्ल्याटबाट सुरु भएको नेपाल परेड एल्डल्स पार्कमा पुगेर सभामा परिणत भएको थियो।
हरेक दुई वर्षमा अष्ट्रेलियाका विभिन्न शहरहरूमा आयोजना हुने नेपाल फेस्टिवल यसअघि २०२४ मा सिड्नी र पर्थमा सम्पन्न भएको थियो। आगामी जुन महिनामा नर्दन टेरिटोरीमा नेपाल फेस्टिवल आयोजना हुने तयारी भइरहेको छ।






