बलिउड अभिनेत्री कंगना रनौतद्वारा निर्देशित फिल्म ‘इमर्जेन्सी’ बङ्गलादेशमा प्रतिबन्धित भएको छ। यो निर्णय भारत र बङ्गलादेशबीचको बढ्दो राजनीतिक तनावलाई दृष्टिगत गर्दै गरिएको बताइएको छ। भारतीय समाचार एजेन्सी आईएएनएसका अनुसार फिल्मको विषयवस्तुभन्दा पनि दुई देशबीचको वर्तमान सम्बन्ध नै यस प्रतिबन्धको मुख्य कारण हो।
‘इमर्जेन्सी’ १९७५ मा भारतमा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीद्वारा लगाइएको आपतकालीन अवस्थाको ऐतिहासिक पृष्ठभूमिमा आधारित छ। साथै, यो फिल्मले १९७१ को बङ्गलादेश स्वतन्त्रता संग्राममा भारतीय सेना र इन्दिरा गान्धीको सरकारद्वारा गरिएको सहयोगलाई पनि उजागर गरेको छ। फिल्ममा बङ्गलादेशका संस्थापक शेख मुजीबुर रहमानलाई दिइएको भारतीय समर्थन तथा उनको हत्या सम्बन्धी घटनाक्रमलाई चित्रण गरिएको छ।
फिल्ममा प्रस्तुत सामग्रीले बङ्गलादेशमा विवाद सिर्जना गर्नसक्ने भन्दै यसलाई प्रदर्शन गर्न रोक लगाइएको हो। ‘इमर्जेन्सी’ भारतमा जनवरी १७ मा रिलिज हुने तयारीमा छ।
यसअघि पनि बङ्गलादेशले केही भारतीय फिल्महरूलाई प्रतिबन्ध लगाएको छ। हालै मात्र ‘पुष्पा २’ र ‘भूल भुलैया ३’ जस्ता फिल्महरूको प्रदर्शनलाई रोक लगाइएको थियो। दुई देशबीचको पछिल्लो राजनीतिक असहमति र संवेदनशीलताका कारण यस्ता निर्णय भइरहेका देखिन्छन्।





