बेंगलोरमा नेपाली बालिकाको बलात्कारपछि हत्या

बैतडी । कालिकोटको नरहरिनाथ गाउँपालिका ४, रुपसा अदेलाकी ७ वर्षीय रश्मी बोकटीको भारतको बेंगलोरमा बलात्कारपछि हत्या भएको छ । घटनाले नेपाली समुदायलाई स्तब्ध बनाएको छ ।

कामको सिलसिलामा बेंगलोरमा बस्दै आएका दिपेन्द्र बोकटी र सुशीला कुँवरकी छोरी रश्मी आफ्नै डेरामा रहेका बेला बिहारका करिब २५ वर्षीय युवकले बलात्कारपछि हत्या गरेको आरोप लगाइएको छ ।

मृतककी आमाले घटनालाई प्रत्यक्ष देखेपछि प्रतिकार गर्ने प्रयास गरेपनि अभियुक्तले घाँटी थिचेर हत्या गरेको बताइएको छ । घटनापछि अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

यस घटनाले नेपाली समुदायमा रोष उत्पन्न गराएको छ । बेंगलोरस्थित नेपाली संघसंस्था र सामाजिक अभियन्ताहरूले दोषीमाथि कडा कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै गत सोमबारदेखि प्रदर्शन गरिरहेका छन् ।

नेपाली समुदायका अगुवाहरूले सत्यतथ्य छानबिन गरी दोषीलाई कडा सजाय दिन र पीडित परिवारलाई उचित राहत प्रदान गर्न भारत सरकारसँग आग्रह गरेका छन् ।

बेंगलोर नेपालीहरूको रोजगारीका लागि लोकप्रिय गन्तव्य भएपनि त्यहाँ नेपालीहरू माथि हुने आपराधिक घटनाहरू बढ्दै गइरहेका छन् । यस्ता घटनाप्रति दुवै देशका सरकारहरूले ध्यान दिनु आवश्यक रहेको सामाजिक अभियन्ताहरूले बताएका छन् ।

यस घटनाले प्रवासी नेपाली समुदायको सुरक्षा सम्बन्धी गम्भीर प्रश्न खडा गरेको छ । दोषीलाई कानूनी कठघरामा ल्याई पीडित परिवारलाई न्याय सुनिश्चित गर्न तुरुन्त कदम चाल्नुपर्ने माग सर्वत्र उठेको छ ।