फिल्म ‘महाराजधिराज’ को पहिलो झलक (फस्टलुक) सार्वजनिक भएको छ। छत्रेश्वरी म्यानेजमेन्ट प्रा.लिको ब्यानरमा निर्माण भएको यस फिल्मको फस्टलुकले दर्शकहरूको चासो बढाउने अपेक्षा गरिएको छ। फिल्मको नारा, ‘अनेकौं समस्या म देख्छु जगतमा, छ कि दोष हाम्रो आफ्नै रगतमा’ राखिएको छ, जसले फिल्मको कथावस्तुमा केही गहिरो अर्थ बोकेको संकेत गर्छ।
पोस्टरमा दुई पात्रलाई देखाइएको छ। एकजना पारम्परिक राजर्षी पोशाकमा सजिएका छन्, भने अर्को पात्रलाई पूर्ण रूपमा न्यूड र शारीरिक रूपमा अत्यन्त कमजोर अवस्थामा देखाइएको छ। उक्त पात्र कुर्सीमा बसेको छ, र उनको तस्बिर भित्तामा झुण्ड्याइएको फ्रेमभित्र राखिएको झैँ देखिन्छ। यसले भावी पुस्ताले अघिल्ला पुस्ताप्रति व्यक्त गर्ने स्मरणात्मक भावलाई चित्रण गरेको अनुमान गर्न सकिन्छ।
फस्टलुकमा नायक पल शाहलाई अनौठो र कमजोर व्यक्तिको अवतारमा प्रस्तुत गरिएको छ। यसले दर्शकलाई उनी कुनै नयाँ भूमिकामा देखिन सक्छन् भन्ने संकेत गरेको छ।
फिल्म आउँदो वर्षको दशैंको फूलपातीका दिन प्रदर्शन गर्ने घोषणा गरिएको छ। फिल्मका निर्देशक परिच्छेद सेनले यसैका कथा पनि लेखेका छन्। विराज विष्टको प्रस्तुति रहेको यो फिल्ममा टोपेन्द्र विष्ट, चक्र बहादुर केसी, र रवि खड्काको लगानी रहेको छ।






