नेपालमा बन्यो अहिलेसम्मकै धेरै कमाउने विदेशी फिल्म फिल्म ‘पुष्पा २’

दक्षिण भारतीय फिल्म ‘पुष्पा २ : द रुल’ नेपालमा सर्वाधिक कमाइ गर्ने विदेशी फिल्मको स्थानमा पुगेको छ। सुकुमारको निर्देशनमा बनेको यो फिल्मले प्रदर्शनको २० दिनमै नेपाली बक्स अफिसमा २४ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ।

फिल्म प्रदर्शन जारी रहेकाले ‘पुष्पा २’ को कमाइ थप बढ्ने प्रबल सम्भावना देखिन्छ। यसअघि नेपालमा सबैभन्दा धेरै कमाइ गरेको विदेशी फिल्म ‘केजीएफ २’ थियो, जसले १९ करोड २९ लाख १३ हजार ७५८ रुपैयाँको ग्रस आम्दानी गरेको थियो। चलचित्र विकास बोर्डको २०७९ चैत २८ मा सार्वजनिक विवरणअनुसार, ‘केजीएफ २’ का ६ लाख ७७ हजारभन्दा धेरै टिकट बिक्री भएका थिए।

नेपालमा तेस्रो स्थानमा रहेको रणवीर कपुर अभिनीत ‘एनिमल’ ले करिब १७ करोड ५० लाख रुपैयाँको ग्रस कमाइ गरेको छ। चौथो स्थानमा रहेको ‘बाहुबली २ : द कन्क्लुजन’ ले १५ करोड हाराहारीमा कमाइ गरेको अनुमान गरिएको छ। तर, त्यो समयमा नेपालमा बक्स अफिस प्रणाली सीमित हलमा मात्र लागू भएकाले यसको वास्तविक कमाइमा अन्योल रहेको छ। हाल लागू बक्स अफिस प्रणाली अनुसार ‘पुष्पा २’, ‘केजीएफ २’, र ‘एनिमल’ धेरै कमाइ गर्ने विदेशी फिल्मका रुपमा स्थापित भएका छन्।

‘पुष्पा २’ को लगानी फिर्ता

नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ वितरण गरिएको हो। ए-एट्, डीसीएन, र आरआरले फिल्मलाई झन्डै ७ करोड रुपैयाँमा किनेका थिए। लगानी सुरक्षित गर्न फिल्मले कम्तीमा २२ करोड रुपैयाँको ग्रस कमाइ गर्नुपर्ने थियो। प्रदर्शनको पछिल्लो सप्ताहन्तमा फिल्मले लगानी फिर्ता गरिसकेको छ।