जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको अवसरमा ३४ जोडीले सामूहिक रूपमा वैवाहिक जीवनको यात्रा सुरु गरेका छन्। विश्व हिन्दु परिषद् नेपालको आयोजनामा शनिबार साँझ जानकी मन्दिर प्रांगणमा परम्परागत मैथिली विधिअनुसार सामूहिक विवाह सम्पन्न भएको हो।
सामूहिक विवाहका लागि परिषद्ले सहभागी जोडीहरूको सम्पूर्ण खर्चको व्यवस्थापन गरेको थियो। परिषद्का जनकपुर अध्यक्ष सन्तोष साहका अनुसार, प्रत्येक जोडीलाई वैवाहिक सामग्रीका रूपमा दुलहीका लागि साडी र लेहेङ्गा सेट, दुलहाका लागि धोती-कुर्ता र सर्ट-पेन्ट सेट प्रदान गरिएको थियो। साथै, सुनको मंगलसूत्र, चाँदीका औंठी, भान्छाका सामग्री, सुत्ने सेट, र बेहुली पक्षका २५ जना पाहुनाका लागि खाजा र खानाको व्यवस्था गरिएको थियो।
यस कार्यक्रममा सहभागी बन्न २० वर्ष पुगेको नागरिकता वा जन्मदर्ता प्रमाण आवश्यक थियो। एक जोडीको विवाह व्यवस्थापनका लागि औसतमा ७० देखि ८० हजार रुपैयाँ खर्च भएको बताइएको छ, जसका लागि आर्थिक सहयोग संकलन गरिएको थियो।
विश्व हिन्दु परिषद्ले जनकपुरलाई ऐतिहासिक विवाह भूमिका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले विगत ६ वर्षदेखि विवाहपञ्चमीको अवसरमा सामूहिक विवाह कार्यक्रम गर्दै आएको छ। यो परम्परा त्रेता युगको धार्मिक महत्त्वलाई जीवित राख्न योगदान पुर्याइरहेको मानिन्छ।






