अस्ट्रेलियामा नेपालीको संख्या एकिन तथ्यांक अभाव र अनुमानको भर

अस्ट्रेलियामा कति नेपाली छन् भन्ने प्रश्नले सधैं अनुमान र लगभगको भर पाउँदै आएको छ। यो संख्या स्पष्ट पार्ने कुनै ठोस तथ्यांक वा अभिलेख उपलब्ध छैन। एकातिर कोही १ लाख भन्छन्, अर्कोतिर कसैले ३ लाखसम्म पनि दाबी गर्छन्। तर, वास्तविक संख्या भने कसैलाई थाहा छैन।

सिड्नी, मेलबर्न, र ब्रिजबेनजस्ता ठूला शहरका सडक तथा व्यापारिक केन्द्रहरूमा नेपालीको बाक्लो उपस्थिति देखिन्छ। सिड्नीको ट्रेनमा मात्र पनि, कहिलेकाहीँ डिब्बाको एकतिहाइ हिस्सा नेपालीले भरिएको अनुभव गर्न सकिन्छ।

नेपाली विद्यार्थीहरूको बढ्दो संख्या, स्थायी बसोबास (पीआर) अनुमति, र नागरिकता ग्रहण गरेका नेपालीहरूको विवरण समयसँगै थाहा पाइन्छ। तर, अन्य प्रकारका भिसामा रहेका नेपालीहरूको संख्या भने पत्ता लगाउन कठिन भएकाले अनुमानकै आधारमा आँकलन हुँदै आएको छ। यो अभावले नेपालीहरूको वास्तविक उपस्थिति अझै अनिश्चित राखेको छ।

सन् २०१७ मा अस्ट्रेलियन जनगणनाले नेपालमा जन्मिएका ७३,७४० व्यक्ति अस्ट्रेलियामा बसोबास गरिरहेको देखाएको थियो। पछिल्लो सन् २०२२ को जनगणनामा यो संख्या बढेर १,५१,१४० पुगेको छ। यद्यपि, यस तथ्यांकमा जनगणनामा सहभागी नभएका नेपाली विद्यार्थीहरू र अन्य भिसामा रहेका नेपालीको संख्या समावेश छैन।

पछिल्लोपटक बिदाइ भएका अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले करिब दुई लाख नेपाली अस्ट्रेलियामा रहेको एक कार्यक्रममा बताएका थिए । 

हाल अस्ट्रेलियामा स्थायी बसोबास अनुमति (पीआर) प्राप्त गरेका नेपालीहरूको संख्या करिब १,६०,००० रहेको देखिन्छ। अध्ययनका लागि आएका नेपाली विद्यार्थीहरूको संख्या पछिल्लो तथ्यांकअनुसार ६३,००० रहेको छ। तर, हालका वर्षहरूमा तीव्र रूपमा बढेको विद्यार्थीहरूको तथ्यांकलाई समेट्न नसक्दा यो आँकडा अधुरो देखिन्छ।

अध्यागमन विभागका आँकडाले स्थायी बसोबास र विद्यार्थीहरूको संख्या केही हदसम्म देखाए पनि अन्य भिसामा रहेका नेपाली र पछिल्लो पुस्ताका नेपालीहरूको संख्या यकिन गर्न चुनौती बनेको छ। भिसाबिना अस्ट्रेलियामा अवैध रूपमा बसिरहेका केही नेपालीहरूको उपस्थिति पनि अनुमान गरिएको छ।

नेपाली समुदायको वास्तविक संख्या पत्ता लगाउन नेपाली दूतावासले केही समयअघि प्यासिफिक क्षेत्रका विभिन्न देशहरूमा सर्वेक्षण सुरु गरेको थियो। तर, यो अभियान बीचमै रोकिएको छ।

अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूको यकिन तथ्यांक सार्वजनिक हुन नसक्दा यसले नीति निर्माण र समुदायको पहिचानमा असर गरेको छ। वास्तविक तथ्यांकले नेपाली समुदायको प्रभाव र योगदानलाई अझ स्पष्ट पार्न सहयोग पुर्‍याउनेछ। यस्तोमा, सम्बन्धित निकायहरूले समन्वय र अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको छ।