भारतीय संगीतका हस्ती एआर रहमान र उनकी पत्नी सायरा बानो करिब २९ वर्ष लामो वैवाहिक जीवनपछि अलग हुने निर्णयमा पुगेका छन्। सायराका वकिल वन्दना शाहले विज्ञप्ति जारी गर्दै सम्बन्धविच्छेदको पुष्टि गर्दै दम्पतीको गोपनीयताको सम्मान गर्न आग्रह गरेकी छिन्।
विज्ञप्तिमा उल्लेख गरिएअनुसार, रहमान र सायराले एकअर्काप्रतिको गहिरो प्रेमका बावजुद वैवाहिक सम्बन्धमा आइपरेका तनाव र समस्याका कारण यस्तो कठिन निर्णय लिएका हुन्। उनीहरूले यी कठिनाइहरू समाधान गर्न नसकिने निष्कर्षमा पुगेपछि अलग हुने सहमति गरेका हुन्।

सायराकी वकिलको भनाइ बाहिर आएपछि एआर रहमानले पनि सामाजिक सञ्जालमार्फत आफ्ना प्रशंसकहरूलाई जानकारी गराएका छन्। भावुक नोटमा उनले भनेका छन्, “सबै कुराको अन्त्य नदेखिने ढंगले हुन्छ। भाँचिएको हृदयको बोझले परमेश्वरको सिंहासन पनि काँप्न सक्छ। यद्यपि, यस अवस्थामा टुक्राहरूले आफ्नो स्थान नपाए पनि हामीले अर्थ खोजिरहेका छौं।” उनले यो समय गोपनीयताको सम्मान गर्न सबैलाई अनुरोध गरेका छन्।
एआर रहमान र सायरा बानोले १२ मार्च १९९५ मा विवाह गरेका थिए। त्यो बेला रहमान २७ वर्षका थिए भने सायरा २१ वर्षकी। यो विवाह रहमानकी आमाले तय गरेको थियो। वैवाहिक जीवनका दौरान उनीहरूले दुई छोरी खतिजा र रहिमा तथा एक छोरा अमिनलाई हुर्काए।
यो खबरले रहमानका प्रशंसकहरूलाई आश्चर्यचकित बनाएको छ। तर, दम्पतीले यस्तो कठिन परिस्थितिमा सबैबाट गोपनीयताको सम्मान पाउने अपेक्षा गरेका छन्।





