अस्ट्रेलियामा रास्वपाको तदर्थ समिति गठन, २१ सदस्यीय टोली चयन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रवासमा रहेका नेपालीहरूसँग सम्बन्ध विस्तार गर्न अस्ट्रेलियामा प्रवास नेपाली सम्पर्क विभागको तदर्थ समिति गठन गरेको छ।

२१ सदस्यीय उक्त समितिको संयोजकमा कृष्ण पौडेल चयन भएका छन्। उपप्रमुखको जिम्मेवारी निराजन थापाले सम्हाल्नेछन् भने सचिव गणेश पौडेल र कोषाध्यक्षको भूमिकामा कमल तिमिल्सिना रहेका छन्।

रास्वपाका सांसद हरि ढकालका अनुसार अस्ट्रेलियाको २१ दिने बसाइका क्रममा यो तदर्थ समिति गठन गरिएको हो। उनले अस्ट्रेलियामै पहिलो पूर्ण कमिटी गठन भएको जानकारी समेत दिएका छन्।

नेपाली समुदायसँगको छलफलका क्रममा नागरिकताको झन्झट र समस्या प्राथमिक चासोका विषय बनेको ढकालले बताए। उनले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी जटिलतामा पार्टीले आवाज उठाउने प्रतिबद्धता जनाए।

यस्तै, नेपाल–अस्ट्रेलिया सिधा हवाई उडानको विषयमा भइरहेको ढिलाइप्रति पनि अस्ट्रेलियास्थित नेपाली समुदायले गम्भीर चासो राखेको उनले उल्लेख गरे।