चलचित्र निर्माता तथा कलाकार दीपकराज गिरीले आफूलाई ‘महानायक’ भनेर व्यंग्य गर्नेहरूप्रति कडा प्रतिक्रिया जनाएका छन्। उनले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गर्ने व्यक्तिहरूलाई अबदेखि ब्लक गर्ने निर्णय गरेका छन्।
आज बिहान आफ्नो फेसबुक पृष्ठमा ‘फेसबुक आफ्नो विचार पोख्ने माध्यम हो, दुनियाँलाई खुसी पार्न लेख्ने ठाउँ होइन’ भन्दै उनले स्टाटस लेखेका थिए। उक्त पोस्टमा केही व्यक्तिले ‘महानायक’ भन्दै कटाक्ष गरेपछि उनले कडा रूपमा जवाफ दिएका हुन्।
उनले आफ्नो स्टाटसमा कमेन्ट गर्दै लेखेका छन्, ‘अर्को सानो जानकारी गराउँदैछु । आजबाट जस जस्ले मलाइ महानायक सम्बोधन गर्नु हुन्छ उहॉलाइ मेरो फेसबुकमा ब्लक गर्दैछु , यो पद न मैले कहिले दाबी गरेको थिएँ न गर्नेछु तर मैले बारम्बार भन्दा पनि भेडापन्थी देखाउने मानिस कमसेकम मेरो फ़ेसबुकमा जोडिन सक्दैन फरक विचार स्वागत, असभ्यता अस्वीकार शुभदिन !’
यो विवाद दीपाश्री निरौलाले राजेश हमालको महानायक उपाधिमाथि प्रश्न उठाएपछि सुरु भएको थियो। दीपकराजले दीपाश्रीको समर्थनमा धारणा राखेपछि उनलाई हमाल समर्थकहरूले ‘महानायक’ भन्दै व्यंग्य गर्न थालेका थिए।






