प्रधानमन्त्रीको रास्वपालाई लक्षित टिप्पणी- ‘टुप्पाबाट पलाएकाहरूको आधारहीन गाली सुहाउँदैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको १० वर्ष पूरा भएपछि यसको पुनरावलोकन र मूल्याङ्कन गरिने बताएका छन् । कान्तिपुर कन्क्लेभ २०२४ को समापन सत्रमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र, गणतन्त्र र संघीयताको मूल मर्मलाई कुनै हानी नपुर्याउने कुरामा जोड दिए ।

मुलुकमा स्थिरता, सुशासन र विकासको लागि वर्तमान सत्ता गठबन्धनको गठन भएको बताउँदै प्रधानमन्त्री ओलीले बहुमत नभएको अवस्थामा पनि नेपाली कांग्रेस र नेकपा एमालेजस्ता लोकतान्त्रिक आन्दोलनमा सहभागी दलहरूको सहकार्यले यसलाई सम्भव बनाएको उल्लेख गरे ।

उनले अब एक वर्ष आठ महिनापछि सत्ता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने योजना रहेको जानकारी दिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानको क्रममा पक्राउ गरिएको विषयमा उठेको प्रश्नमा प्रधानमन्त्री ओलीले यस बारे संसदीय समितिको प्रतिवेदनका आधारमा अनुसन्धान गरिएको र दोष निर्दोषको निर्णय अदालतमा हुने बताए ।

प्रधानमन्त्रीले भने, ‘म भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ भन्ने मेरो दृढ अडान छ । गल्ती गर्नेहरूमाथि कारबाही गर्दा कसैको अनुहार नहेर्ने मेरो नीति हो । हामी लोकतन्त्रका लागि लामो संघर्ष र जेलनेल भोगेर आएका हौं, र देश अब पछाडि फर्कन सक्दैन ।’

ओलीले भने, नयाँ पुस्ताका नाममा आएका केही मानिसहरूले आधारहीन रूपमा सरकारलाई आरोप लगाउनु उचित नभएको र न्यायालयलाई दबाबमा राख्न खोज्नु लोकतान्त्रिक मर्मको विपरीत हुने बताए ।