भिक्टोरियन युवा अस्ट्रेलियन अवार्ड २०२५’ बाट नेपाली चेलि ऐश्वर्य कंसाकार सम्मानित

अस्ट्रेलियाको मेलबर्नमा चेलि नेपाली मूलकी ऐश्वर्य कंसाकारले प्रतिष्ठित अवार्ड प्राप्त गरेकी छन्। २९ वर्षीया कंसाकारले विज्ञान र प्रविधि क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै भिक्टोरिया राज्यको ‘युवा अस्ट्रेलियन सन् २०२५’ को उपाधि हासिल गरेकी हुन्। यो अवार्ड भिक्टोरिया राज्यको तर्फबाट प्रदान गरिन्छ र विज्ञान, प्रविधि तथा सामाजिक सेवा क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गर्न स्थापना गरिएको हो।

भिक्टोरिया राज्यले हरेक वर्ष विभिन्न विधामा उत्कृष्ट व्यक्तिहरूलाई सम्मान गर्ने परम्पराअन्तर्गत यस वर्ष कंसाकारलाई युवा विधाको अवार्ड प्रदान गरेको हो। यो अवार्डले उनलाई आगामी वर्ष क्यानबेरामा हुने राष्ट्रिय अवार्ड वितरण कार्यक्रममा प्रतिनिधित्व गर्ने अवसर पनि दिलाएको छ।

वैज्ञानिक अनुसन्धान र प्रविधिको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा आफ्नो पहिचान बनाउन सफल कंसाकारले यो सम्मान पाएकोमा आफू उत्साहित भएको बताएकी छन्। सरकारी सञ्चारमाध्यम एबीसी रेडियोसँगको अन्तर्वार्तामा उनले अवार्डले आफ्नो यात्रालाई थप प्रेरणा दिएको उल्लेख गरिन्।

कंसाकारले ‘ओमन फर स्टिम’ परियोजनामार्फत महिलाहरूलाई विज्ञान, प्रविधि, इञ्जिनियरिङ, र गणित (स्टिम) क्षेत्रतर्फ आकर्षित गराउँदै सामाजिक परिवर्तनमा पनि योगदान पुर्‍याइरहेकी छन्। उनको यो परियोजनाबाट विश्वभर हजारौं महिलाहरू लाभान्वित भएका छन्।

ऐश्वर्य कंसाकारको सफलताले अस्ट्रेलियामा मात्र नभई विश्वभरका युवाहरूलाई प्रेरणा प्रदान गरेको छ। नेपालमा सुरुवात भएको उनको यात्रा अस्ट्रेलियासम्म आइपुग्दा उनले विज्ञान र प्रविधिमा पुर्‍याएको योगदानलाई कदर गरिएको छ। यो अवार्डले भविष्यमा ऐश्वर्यको योगदानलाई थप महत्वपूर्ण बनाउन सहयोग पुर्‍याउने विश्वास गरिएको छ।