काठमाडौं। नेपालले आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोट प्रतियोगितामा आफ्नो चौथो खेलमा कुवेतलाई १६५ रनले हराउँदै प्रभावशाली जित हासिल गरेको छ। यो जितमा कप्तान पूजा महतोको उत्कृष्ट प्रदर्शन विशेष रूपमा उल्लेखनीय रह्यो।
पहिले ब्याटिङ गर्दै नेपालले दुबईको दी सेभेन्स मैदानमा २ विकेटको क्षतिमा २१३ रनको विशाल स्कोर खडा गर्यो। कप्तान महतोले ६९ बलमा १७ चौकासहित अविजित १३० रन बनाइन्, भने सोनी पाख्रिनले ४३ रनमा अविजित योगदान दिँदै तेस्रो विकेटका लागि १५७ रनको साझेदारी गरे। सावित्रि धामीले ११ र सान प्रविनले ६ रन जोडे। कुवेतका बलरहरूमध्ये जिफा जिलानी र रेलिन मारिया डी सोउजाले समान एक/एक विकेट लिएका थिए।
२१४ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको कुवेतको टोलीलाई नेपालले ४८ रनमै अलआउट गर्दै सहज जित दर्ता गर्यो। बलिङतर्फ नेपालकी कप्तान पूजा महतोले ४ ओभरमा मात्र ८ रन खर्चेर ५ विकेट लिएर निर्णायक भूमिका खेलिन्। रचना कुमारी र सीमाना केसीले समान २/२ विकेट हात पारे। कुवेतका लागि जिफा जिलानीले ३६ रन बनाए पनि अन्य कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन्।





