अभिनेता ऋषभ शेट्टीको अभिनयमा आउने फिल्म जय हनुमानको फष्टलुक सार्वजनिक गरिएको छ। यो फष्टलुक दीपावलीको अवसरमा अभिनेता शेट्टीले आफ्ना फ्यानहरूलाई उपहार दिएका छन्, जसले दर्शक र फ्यानहरूको ध्यान आकर्षित गरेको छ।
फिल्म जय हनुमानमा ऋषभ शेट्टीले भगवान् हनुमानको भूमिकामा देखिनेछन्। सार्वजनिक गरिएको पोस्टरमा उनी भगवान् श्रीरामको मूर्ति समातेको अवतारमा देखिएका छन्। यस दृश्यले फ्यानहरूबाट सकारात्मक प्रतिक्रिया र उत्साहको लहर सिर्जना गरेको छ।
जय हनुमानको निर्माण घोषणा भएको समयदेखि नै यो फिल्म चर्चामा रहेको छ। फिल्म प्रशान्त वर्मा सिनेम्याटिक युनिभर्सको एक महत्त्वपूर्ण प्रोजेक्टको रूपमा स्थापित गरिएको छ। यसअघि बक्स अफिसमा सफल भएको फिल्म हनुमानको सफलता पछि यसको सिक्वेलको रूपमा जय हनुमानको निर्माण गरिएको हो।

फिल्म जय हनुमान पवित्र र प्रसिद्ध पौराणिक सुपरहिरो हनुमानको पुनरुत्थानको कथा प्रस्तुत गर्दछ। निर्माण युनिटका अनुसार, फिल्ममा उच्च गुणस्तरको भीएफएक्स प्रयोग गरिएको छ, जसले दृश्य प्रभावलाई थप आकर्षक बनाउनेछ।
फिल्मको निर्माण नवीन येरनेनी र वाई रविशंकरले गरेका छन्, जबकि निर्देशनको जिम्मेवारी स्वयं ऋषभ शेट्टीले लिएका छन्। जय हनुमानको फष्टलुक र यसका प्रमुख पात्रको प्रस्तुतीकरणले दर्शकहरूमा उच्च अपेक्षाको सृजना गरेको छ।
फिल्मको प्रदर्शन मिति र थप जानकारीहरू चाँडै नै सार्वजनिक गरिने अपेक्षा गरिएको छ।





