ललितपुरको बंगलामुखी मन्दिरमा सोमबार पूजाआजा गर्दै फिल्म ‘जेरी अन टप’को छायांकन सुरु गरिएको छ। करिब तीन वर्षको अन्तरालपछि अभिनेता भुवन केसी यो फिल्ममार्फत अभिनयमा फर्किन लागेका हुन्। आइतबार भुवनलाई आधिकारिक रूपमा अनुबन्धित गर्दै निर्माणपक्षले यो खबर सार्वजनिक गरेको हो।
सुयोग गुरुङको निर्देशनमा तयार हुने ‘जेरी अन टप’मा अनमोल केसी मुख्य भूमिकामा देखिनेछन्। बुबा–छोराको सम्बन्धमा आधारित यो फिल्ममा भुवन र अनमोल वास्तविक जीवनमा बुबा–छोरा रहेका कारण उनीहरूको भूमिकाले विशेष उत्सुकता पैदा गरेको छ। अनमोलको आमाको भूमिकामा भने अभिनेत्री विपना थापा देखिनेछिन्, जसले सन् २००६ को फिल्म ‘मानिस’मा भुवनसँग काम गरिसकेकी छिन्। ‘जेरी अन टप’मा उनीहरू जोडीको रूपमा एकसाथ पर्दामा देखिन लागेका हुन्।
निर्माणपक्षका अनुसार ‘जेरी अन टप’ अनन्या फिल्म्स र भण्डारी मल्टी ट्रेडको ब्यानरमा निर्माण हुँदैछ। फिल्मको छायांकन मुख्य रूपमा काठमाडौं, लुक्ला र भारतको लद्दाखमा हुनेछ, जसका लागि ५० दिनको समय तालिका तयार पारिएको छ। फिल्मका अन्य मुख्य कलाकारहरूमा अनमोल केसी, जसिता गुरुङ, आँचल शर्मा, भुवन केसी, विपना थापा, र केदार घिमिरे ‘माग्ने बूढा’ रहेका छन्।
फिल्मको छायांकनको प्रारम्भसँगै कलाकारहरूको वर्कशप पनि भइरहेको छ।