साफ वुमन्स च्याम्पियनसिप २०२४:नेपाल श्रीलंका र भुटान माल्दिभ्स खेल्दै

साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत आज समूह चरणका अन्तिम दुई खेलहरु हुँदैछन्। समूह बी मा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ भने भुटानले माल्दिभ्सको सामना गर्नेछ। यी खेलहरुका नतिजाबाट समूह बी बाट सेमिफाइनल पुग्ने टोलीहरुको टुङ्गो लाग्नेछ।

नेपाल, श्रीलंका, र भुटान सेमिफाइनलमा पुग्ने होडमा छन्, जबकि लगातार दुई खेल हारेको माल्दिभ्स समूह चरणबाट नै बाहिरिइसकेको छ। नेपाल र भुटानले समान ४ अंक बटुलिसकेका छन् भने गोलअन्तरमा नेपाल अगाडि छ। यसअघि नेपाल र भुटानबीचको पहिलो खेल गोलरहित बराबरीमा टुङ्गिएको थियो। नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई ११-० ले हराएको थियो भने भुटानले श्रीलंकालाई ४-१ को जित निकालेको थियो।

भुटान र माल्दिभ्सबीचको खेल दिउँसो साढे १ बजे र नेपाल र श्रीलंकाबीचको खेल साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। भुटानले माल्दिभ्सविरुद्ध हार टार्न सकेमा उनी सेमिफाइनलमा पुग्नेछन्। भुटान पराजित भएमा भने नेपाल र श्रीलंकाबीचको खेलको नतिजा कुर्नुपर्ने हुन्छ।

नेपालले सेमिफाइनल प्रवेश गर्न श्रीलंकाविरुद्ध हार टार्नुपर्नेछ, जबकि श्रीलंकालाई सेमिफाइनलमा पुग्न नेपाललाई हराउनै पर्ने स्थिति छ।

समूह ए बाट भने बंगलादेश र भारत सेमिफाइनलमा पुगिसकेका छन्। बंगलादेशले अन्तिम खेलमा भारतलाई पराजित गर्दै समूह ए को विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो भने भारत उपविजेताको हैसियतमा अघि बढेको छ।

समूह बी बाट विजेता बन्ने टोलीले सेमिफाइनलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ भने उपविजेता टोलीले बंगलादेशसँग खेल्नेछ। सेमिफाइनल खेलहरु आइतबार हुनेछन् भने फाइनल खेल बुधबार हुनेछ।