बाहुबलीको तेस्रो संस्करण बनाउने तयारीमा राजामौली

चर्चित भारतीय निर्देशक एसएस राजामौलीले बहुप्रशंसित फिल्म श्रृंखला ‘बाहुबली’ को तेस्रो भाग बनाउने तयारी थालेका छन्। मिडिया रिपोर्टका अनुसार, यस तेस्रो संस्करणमा पनि अभिनेता प्रभासले मुख्य भूमिकामा अभिनय गर्ने सम्भावना रहेको छ। यो जानकारी ‘कंगुवा’ फिल्मका निर्माता ज्ञानवेल राजाले दिएका हुन्। साथै, उनले कंगुवाको सिक्वेल पनि निर्माण हुने जानकारी दिएका छन्। ज्ञानवेल २०१५ मा रिलिज भएको ‘बाहुबली’ फिल्मको तमिल वितरक थिए।

ज्ञानवेलले हालै एक चलचित्रकर्मीहरूबीच भएको छलफलमा बाहुबली ३ योजनामा रहेको खुलासा गरेका थिए। उनले भने, “बाहुबली ३ हाल प्लानिङ स्टेजमा छ। यो कुरा गत हप्ता चलचित्रकर्मीहरूसँगको छलफलमा थाहा भयो। निर्देशक एसएस राजामौलीले बाहुबली १ र २ बनाएपछि लामो समयको अन्तरालमा तेस्रो संस्करणको तयारी गरिरहेका छन्।” ज्ञानवेलले अन्य केही चर्चित फिल्मको सिक्वेलको उदाहरण दिँदै, “जस्तै ‘कल्की २८९८ ईस्वी’ र ‘सालार’ का सिक्वेल पनि लामो अन्तरालपछि बन्नेछन्, त्यसैगरी कंगुवाको सिक्वेल पनि हुनेछ।”

केही समयअघि आयोजित एक कार्यक्रममा राजामौलीलाई ‘बाहुबली’ फ्रेन्चाइजका थप श्रृंखलाबारे सोधिएको थियो। उनले भनेका थिए, “बाहुबली फ्रेन्चाइज केवल एनिमेटेड सिरिजमा मात्र सीमित हुने छैन, यसले अन्य विभिन्न माध्यममा पनि विस्तार पाउनेछ। तर हाल यो विषयमा गहन रूपमा कुरा गर्न उपयुक्त समय होइन।”

‘बाहुबली’ का निर्माता शोबु यार्लागड्डाले पनि यस विषयमा सहमति जनाउँदै बाहुबली श्रृंखलाले अझै धेरै फ्रेन्चाइजको सम्भावना राख्ने बताएका थिए। यार्लागड्डाका अनुसार, “हालसम्म रिलिज भएका बाहुबली फिल्महरू यस विशाल सम्भावनाको सानो अंश मात्र हुन्। भविष्यमा यसलाई विस्तार गर्न थुप्रै अवसरहरू छन्।”

सन् २०१५ मा रिलिज भएको ‘बाहुबली: द बिगिनिङ’ ले दक्षिण भारतीय सिनेमामा ऐतिहासिक कीर्तिमान राखेको थियो। यो फिल्म न केवल तेलुगु उद्योगमा सर्वाधिक कमाइ गर्ने फिल्म बन्यो, बरु यसको हिन्दी डब संस्करणले पनि ठुलो सफलता हासिल गर्दै भारतमा सबैभन्दा धेरै कमाइ गर्ने हिन्दी डब फिल्म बन्न सफल भयो। यस फिल्मले १० दिनभित्र हजार करोड रुपैयाँको व्यापार गरेको थियो, जुन भारतीय फिल्म इतिहासमा एक ऐतिहासिक उपलब्धि हो।

यसको सिक्वेल ‘बाहुबली: द कन्क्लुजन’ सन् २०१७ मा रिलिज भएको थियो। यो फिल्मले पनि दर्शक र समीक्षकहरूबाट अत्यधिक प्रशंसा पाएको थियो। यसले हिन्दी संस्करण मात्रबाट ५१०.९० करोड रुपैयाँ कमाएको थियो। अहिले ‘बाहुबली ३’ को तयारीले प्रशंसकहरूमा ठूलो उत्साह र प्रतिक्षा पैदा गरेको छ, जुन भारतीय फिल्म उद्योगको अर्को ठूलो उपलब्धि बन्ने अपेक्षा गरिएको छ।