नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा आफ्नो पहिलो जित दर्ता गर्दै ओमानलाई ३७ रनले पराजित गरेको छ। क्यानडा भ्रमणमा यो नेपालको पहिलो सफलता हो।
१७७ रनको लक्ष्य पछ्याउँदै, ओमानको टोली १९.१ ओभरमा १३९ रनमा समेटियो। ओमानका शोएब खानले ३९ बलमा ४ चौका र २ छक्कासहित ४५ रन बनाए। त्यस्तै, रफिउल्लाहले १२ बलमा ४ छक्का र १ चौकासहित ३५ रनको योगदान दिए।नेपालको बलिङतर्फ, करण केसीले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा ३ विकेट लिए। गुलशन झाले २ विकेट, कुशल भुर्तेल, रिजन ढकाल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान १-१ विकेट लिएका थिए।
यसअघि, नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेटको क्षतिमा १७६ रन बनाएको थियो। तल्लोक्रमका गुलशन झाले १७ बलमा ३ चौका र ३ छक्कासहित अविजित ४० रनको इनिङ खेले। दीपेन्द्रसिंह ऐरीले ५ बलमा २ छक्का र १ चौकासहित १८ रन बनाएर नट आउट रहे।नेपालको अर्को खेल मंगलबार क्यानडा र बुधबार ओमानसँग हुनेछ।