अविरल वर्षा र पहिरोले १८८ जनाको ज्यान गयो, ४१ अझै बेपत्ता

अविरल वर्षा, बाढी, पहिरो र डुबानका कारण देशभरि मृत्यु हुनेको संख्या १८८ पुगेको छ भने ४१ जना अझै बेपत्ता छन्। गृहमन्त्रालयले दिएको जानकारी अनुसार, काठमाडौंको नागढुंगा नजिकैको झाप्ले खोलामा मात्रै ३५ यात्रु पहिरोमा परी ज्यान गुमाएका छन्।

गृह मन्त्रालयको आज बिहानको तथ्यांक अनुसार, काठमाडौं उपत्यकामा ७९, बागमती प्रदेशमा ८५, कोशीमा २१ र मधेशमा तीन जनाको मृत्यु भएको छ।

बेपत्तामध्ये उपत्यकामा २०, बागमतीमा ११, कोशीमा ७, लुम्बिनीमा २ र मधेशमा एक जना रहेका छन्।

देशभरका ४५ जना घाइतेको उपचार भइरहेको छ भने १३२७ घरमा क्षति पुगेको छ। १९ वटा सडकहरू भत्किएका छन्। गृहमन्त्रालयका अनुसार, ३६५४ जनालाई सकुशल उद्धार गरिएको छ।