अस्ट्रेलियाली सरकारले यसै वर्षको अन्त्यसम्म सामाजिक सञ्जाल प्रयोग गर्न बालबालिकाका लागि न्यूनतम उमेर लागू गर्ने कानुन ल्याउने घोषणा गरेको छ। तर, नयाँ कानुनअन्तर्गत प्रयोगकर्ताको उमेर कसरी प्रमाणित गरिनेछ भन्ने कुरा अझै स्पष्ट भएको छैन, जुन बालबालिका अनलाइनमा झेल्नुपर्ने बढ्दो जोखिमलाई कम गर्न लक्षित छ।
प्रधानमन्त्री एन्थोनी अल्बानीजले उमेर प्रमाणित गर्ने प्रविधिको परीक्षण छिट्टै सुरु हुने जानकारी दिँदै नयाँ कानुनले १४ देखि १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने प्रस्ताव गरेको बताए। अभिभावकहरूको बढ्दो चासोलाई मध्यनजर गर्दै बालबालिकालाई अनलाइन धम्की र हानिकारक सामग्रीको सामना गर्नुपर्ने अवस्थाबाट बचाउन सरकारलाई कारबाहीको माग भइरहेको छ।
“यस वर्षको अन्त्यसम्म कानुन ल्याउने हाम्रो प्रतिबद्धता छ, ताकि सामाजिक सञ्जालको हानिबाट बालबालिकालाई टाढा राख्न सकियोस्,” अल्बानीजले अस्ट्रेलियन ब्रडकास्टिङ कर्पोरेशन (एबीसी) सँगको अन्तर्वार्तामा भने। “धेरै युवा पुस्ताले झेलिरहेको मानसिक स्वास्थ्य समस्याहरू निकै गम्भीर छन्। अनलाइन धम्की, हानिकारक सामग्री—यही कुराले अभिभावकहरू चिन्तित छन्, र उनीहरू समाधान खोजिरहेका छन्।”
विपक्षी पार्टीले पनि आगामी निर्वाचन जितेमा १६ वर्षभन्दा मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने प्रतिवद्धता जनाएको छ। आगामी निर्वाचन २०२४ मे भित्र सम्पन्न हुने अपेक्षा गरिएको छ।