नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा उच्च अदालत पाटनले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ ।उच्चले शुक्रबार सार्वजनिक गरेको पूर्णपाठमा परिस्थितिजन्य प्रमाणबाट लामिछानेमाथि गलाइएको आरोप पुष्टि नहुने उल्लेख गरिएको छ ।उच्च अदालतले सन्दीपलाई बलात्कार मुद्दामा सफाइ दिएको थियो । पीडितले प्रतिकार गरेको, कराएको, चिच्चाएको, तेस्रो व्यक्तिसँग आत्मरक्षाको लागि कुनै सहयोगको याचना गरेको नदेखिएको विषयलाई अदालतले सफाइको एउटा आधार बनाएको छ । यो तथ्यलाई वोजनी होटल नगरकोटका सुपरभाइजर समिर पुरी, होटल इनका सुरक्षाकर्मी राजन राणा, बाबुकाजी थापामगर, होटल इनका वेटर सबिन श्रेष्ठ, रिसेप्सनिष्ट अनिष श्रेष्ठको कागज र बकपत्रबाट समेत उक्त होटेलमा जान पीडितको सहमति रहेको पुष्टि भएको अदालतको ठहर छ ।
प्रतिवादी सन्दिप लामिछानेले अनुसन्धानका क्रममा र अदालतमा गरेको इन्कारी बयान, परिवर्तित नाम ‘गौशाला २६ (छ)’ले पठाएको म्यासेज, निजको शारीरिक परीक्षण प्रतिवेदन, निजको शारीरिक अवस्था, घटनास्थल मुचुल्का, घटना विवरण कागज गर्ने होटल काठमाडौँ इन होटलका सेक्यूरिटी गार्ड राजन राणाले गरेको बकपत्रका साथै मिसिल संलग्न परिस्थितिजन्य प्रमाणहरू समेतबाट पुनरावेदक प्रतिवादीले अभियोग मागदाबी बमोजिमको कसुर गरेको पुष्टि नभएको उच्च अदालतको ठहर छ ।पीडित आफैँले प्रतिवादीलाई फ्रेण्ड रिक्वेस्ट पठाएको, प्रतिवादीलाई स्न्याप च्याटमार्फत फोटो पठाउने गरेको, प्रतिवादी आफूले क्रिकेट खेल्न विदेश गइ दुई महिनापछि फर्केर आएर भेट्ने भन्दा पीडितले मलाई सहयोग गर्नु प¥यो भनेर तुरुन्तै भेट्न चाहेको विषयलाई पनि अदालतले सन्दीप लामिछानेमाथि जबरजस्ती करणीको कसुर प्रमाणित नहुने आधारका रूपमा व्याख्या गरेको छ । यस्तै, सन्दीप लामिछानेले गाडी लिएर आउँदा स्वस्फूर्त रूपमा पीडित गाडीमा गइ बसेको, नगरकोट जाँदा समेत पीडितले कुनै प्रतिकार नगरेको र प्रतिवादीले नगरकोटबाट पीडितलाई ‘चाँडै जाउँ, तिम्रो होस्टेल बन्द हुन्छ’ भन्दा ‘होस्टेल जुनसुकै बखत खुला हुन्छ’ भनी प्रतिवादीलाई विश्वास दिलाएको र नगरकोटको होटल प्रतिवादी (सन्दीप)ले बुक गराएको भन्ने तथ्य पुष्टि नभएको जस्ता आधारमा टेकेर अदालतले सन्दीपलाई सफाइ दिएको हो ।
स्रोत :रातो पाटि