क्विन्सल्याण्डमा अब Seniors Card सहित तीन प्रकारका कार्ड डिजिटल रूपमा प्रयोग गर्न पाइने

अस्ट्रेलियाको क्विन्सल्याण्ड राज्य सरकारले ज्येष्ठ नागरिक तथा हेरचाह सेवासँग सम्बन्धित तीन प्रकारका कार्ड डिजिटल प्रणालीमा उपलब्ध गराएको छ। अब Seniors Card, Carer Card र Companion Card प्रयोगकर्ताले Service Queensland मोबाइल एपमार्फत आफ्नो कार्ड प्रयोग गर्न सक्नेछन्।

नयाँ व्यवस्थासँगै योग्य कार्डधारकहरूले सरकारी सेवा तथा विभिन्न व्यवसायले उपलब्ध गराउने छुट र सहुलियत प्राप्त गर्न डिजिटल कार्ड प्रयोग गर्न सक्नेछन्। यद्यपि, डिजिटल कार्ड अनिवार्य गरिएको छैन। यसअघि जारी गरिएका भौतिक कार्डहरू पनि मान्य रहनेछन्।

क्विन्सल्याण्डकी ज्येष्ठ नागरिक तथा अपाङ्गता सेवामन्त्री अमान्डा स्टोकरले डिजिटल प्रणालीले नागरिकलाई सेवा लिन थप सहज बनाउने बताएकी छन्। उनका अनुसार डिजिटल वा भौतिक कार्ड प्रयोग गर्ने निर्णय सम्बन्धित व्यक्तिमै निर्भर रहनेछ।

पछिल्लो दुई वर्षमा Service Queensland एपमा उपलब्ध डिजिटल लाइसेन्स तथा प्रमाणपत्रको संख्या तीनबाट बढेर २२ पुगेको छ। यस अवधिमा डिजिटल लाइसेन्स प्रयोगकर्ताको संख्या दोब्बर भएर १५ लाख नाघेको छ।

यसअघि नै उक्त एपमार्फत सवारी चालक अनुमतिपत्र, उमेर प्रमाणित गर्ने कार्ड, जल यातायातसम्बन्धी लाइसेन्स र विभिन्न व्यावसायिक प्रमाणपत्र डिजिटल रूपमा प्रयोग गर्न सकिने व्यवस्था थियो।

यसैबीच, अस्ट्रेलियन डिजिटल इन्क्लुजन इन्डेक्स २०२५ का अनुसार ७५ वर्षभन्दा माथिका करिब ६६ प्रतिशत अस्ट्रेलियाली डिजिटल पहुँच र प्रयोगका हिसाबले पछाडि रहेका छन्। यस अवस्थालाई ध्यानमा राख्दै सरकारले डिजिटल कार्ड प्रयोग गर्न चाहने ज्येष्ठ नागरिकलाई सेवा केन्द्र, फोन तथा अनलाइनमार्फत आवश्यक सहयोग उपलब्ध गराउने जनाएको छ।

डिजिटल कार्ड प्रयोग गर्न योग्य व्यक्तिहरूले Service Queensland एप डाउनलोड वा अपडेट गरी त्यहाँ दिइएका निर्देशनअनुसार आफ्नो कार्ड थप्न सक्नेछन्।

Advertisement