पर्थमा तीजको रौनक बढाउँदै नारी निकुञ्जको सांस्कृतिक साँझ

वेष्टर्न अष्ट्रेलियामा बसोबास गर्दै आएका नेपाली समुदायलाई लक्षित गर्दै हरितालिका तीजको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) वेष्टर्न अष्ट्रेलियाअन्तर्गत नारी निकुञ्जको आयोजनामा ५ सेप्टेम्बर, शनिबार ‘हरितालिका तीज रमझम साँझ २०८३’ आयोजना गर्न लागिएको हो।

कार्यक्रम बाल्काटास्थित Macedonian Community Centre मा साँझ ४:३० बजेदेखि ९:०० बजेसम्म सञ्चालन हुनेछ। आयोजकका अनुसार कार्यक्रम सबै उमेर समूहका सहभागीका लागि खुला रहनेछ भने प्रवेश निःशुल्क हुनेछ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपाली संगीत क्षेत्रका लोकप्रिय कलाकार रचना रिमाल, सुजन पराजुली, पुरुषोत्तम न्यौपाने र मञ्जु पौडेल लगायतको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहनेछ। तीजको मौलिक गीत–संगीत, सांस्कृतिक माहोल र सामुदायिक सहभागितालाई एकै स्थानमा जोड्ने गरी कार्यक्रमको तयारी गरिएको आयोजकले जनाएको छ।

प्रवासमा बसोबास गर्ने नेपाली समुदायबीच आपसी सम्बन्ध मजबुत बनाउनुका साथै नेपाली कला, संस्कृति, परम्परा र चाडपर्वको संरक्षण तथा प्रवर्द्धन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। विशेषगरी नयाँ पुस्तालाई नेपाली सांस्कृतिक पहिचान र तीजको मौलिक परम्परासँग जोड्न कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

कार्यक्रमलाई Global Compass Consulting ले मुख्य सहयोग गरेको छ। आयोजक नारी निकुञ्जले पर्थ तथा आसपास क्षेत्रमा रहेका नेपाली समुदायलाई परिवार र साथीभाइसहित सहभागी भई तीजको सांस्कृतिक उत्सवमा सहभागी हुन आग्रह गरेको छ।

Advertisement