नेकपा (एमाले) निकट प्रवासी संगठन प्रवासी नेपाली मञ्च (Overseas Nepali Forum–ONF) अष्ट्रेलियाको छैटौँ राष्ट्रिय अधिवेशन सिड्नीमा सम्पन्न भएको छ। आइतबार, १६ अगस्टमा सिड्नीको अवर्नस्थित Grand Function Centre, 219 Parramatta Road मा भएको अधिवेशनले रमेश पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
नयाँ कार्यसमितिको उपाध्यक्षमा दीपक पहारी, सचिवमा मिलन पाठक र सहसचिवमा किशोर भण्डारी चयन भएका छन्। कार्यसमितिमा सुजन श्रेष्ठ, दिनेश पाण्डे, रमेश पाण्डे, प्रेम शाही, युवराज पहाडी, नारायण बस्नेत, स्नेहा न्यौपाने, लेनिन पौडेल, सुवास सुवेदी, राजु गौचन, कृष्ण सापकोटा, मुगेन्द्र गौतम, प्रकाश पौडेल, अरुण गौतम, चन्द्र कुँवर, रविन भुषाल, गणेशराज गौतम, मोहन शर्मा र तेजविक्रम मल्ललगायत रहेका छन्।
नवनिर्वाचित अध्यक्ष पौडेल लामो समयदेखि प्रवासी नेपाली मञ्चको संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएका छन्। यसअघि उनले ONF अष्ट्रेलियाको उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका थिए भने सन् २०२१ मा ONF ओशियाना कमिटीको सचिवसमेत चयन भएका थिए।
अधिवेशन प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष रमेश पाण्डेको प्रमुख आतिथ्य तथा अन्तर्राष्ट्रिय कमिटीका उपसचिव प्रभुराम थापाको विशेष आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय सल्लाहकार तथा पूर्वउपाध्यक्ष डा. विनोद श्रेष्ठ, उपाध्यक्ष डा. ज्ञानेन्द्र रेग्मी, ONF अन्तर्राष्ट्रिय सल्लाहकार राजन बस्नेत, ग्रेटर सिड्नी नेप्लिज मल्टिकल्चरल सेन्टरका अध्यक्ष विष्णु हमाल, एनआरएनए NSW संयोजक उषा वारिया र नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका महामन्त्री रोहित खड्कालगायतले शुभकामना दिएका थिए।
प्रमुख अतिथि पाण्डेले पानसमा बत्ती बालेर अधिवेशन उद्घाटन गरेका थिए। उद्घाटन सत्रको अध्यक्षता तत्कालीन अध्यक्ष केशव जोशीले गरेका थिए भने कार्यक्रम सञ्चालन प्रकाश पन्थीले गरेका थिए।
अधिवेशनको बन्द सत्रले केशव जोशीले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदन र आर्थिक विभाग प्रमुख दीपक पहारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ। अधिवेशनअघि मञ्चले पाँचौँ अधिवेशनदेखि हालसम्मका गतिविधिको समीक्षा गर्दै आगामी कार्ययोजना तय गर्ने र तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने जनाएको थियो।
मञ्चले अधिवेशनमा अष्ट्रेलियाका आठवटै राज्य तथा क्षेत्रबाट प्रतिनिधि र पर्यवेक्षक सहभागी गराउने तयारी गरेको जनाएको थियो। समापन कार्यक्रममा ONF अन्तर्राष्ट्रिय कमिटी, ओशियाना कमिटी तथा अष्ट्रेलियास्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको अन्त्यमा अन्तर्राष्ट्रिय अध्यक्ष रमेश पाण्डे, उपसचिव प्रभुराम थापा, ONF अन्तर्राष्ट्रिय सदस्य शिशिर नेपाल र माधव शाह, अष्ट्रेलिया उपाध्यक्ष राम घिमिरे, निर्वाचन प्रमुख होम पाण्डे तथा ONF ओशियाना अध्यक्ष राजु उपाध्यायलगायतले नवनिर्वाचित नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।





