प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको छैटौँ अधिवेशन आइतबार, १६ अगस्ट मा सिड्नीमा आयोजना हुने भएको छ।
अधिवेशन ग्रान्ड फंक्शन सेन्टर, पारामाटा रोड, अबर्न मा सञ्चालन हुनेछ। मञ्चका प्रचार विभाग प्रमुख अशिम कोइरालाका अनुसार बिहान उद्घाटनसहित बन्द सत्र सञ्चालन गरिनेछ भने साँझ ५ बजे समापन तथा घोषणा सभा आयोजना हुनेछ।
अधिवेशनमा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष रमेश पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ।
कोइरालाका अनुसार अधिवेशनले पाँचौँ अधिवेशनदेखि हालसम्म मञ्चले सञ्चालन गरेका गतिविधिको समीक्षा गर्ने, आगामी कार्यदिशा तथा प्राथमिकता तय गर्ने र आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ।

अधिवेशनको तयारीलाई व्यवस्थित बनाउन विभिन्न समिति गठन गरी आवश्यक काम अगाडि बढाइएको पनि आयोजकले जनाएको छ।
अष्ट्रेलियाका आठै राज्य तथा टेरिटोरीबाट प्रतिनिधि र पर्यवेक्षकहरूको सहभागिता रहने अधिवेशनमा संगठनात्मक प्रतिवेदन, विगतका गतिविधिको समीक्षा, आगामी योजना तथा नेतृत्व चयनसम्बन्धी विषयमा छलफल हुने बताइएको छ।
त्यस्तै, साँझ हुने समापन तथा घोषणा सभामा मञ्चको अन्तर्राष्ट्रिय कमिटी, ओशियाना कमिटी तथा अष्ट्रेलियामा सक्रिय विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि र अगुवाहरूको समेत उपस्थिति रहने जनाइएको छ।
अधिवेशनलाई ओएनएफ अष्ट्रेलियाको आगामी तीन वर्षको नेतृत्व, संगठनात्मक दिशा, प्राथमिकता र कार्ययोजना तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।





