भेपमा प्रयोग हुने भ्यानिला फ्लेभरमा पाइने एक रसायनले महिलाको गर्भधारण तथा भ्रूणको विकासमा असर पार्न सक्ने एक अमेरिकी अध्ययनले देखाएको छ। अध्ययनमा ‘भ्यानिलिन’ नामक जैविक यौगिकमाथि अनुसन्धान गरिएको हो। भ्यानिलिनले विभिन्न उत्पादनलाई भ्यानिलाको स्वाद र सुगन्ध दिन्छ र यो केही प्रकारका भेप फ्लेभरमा पनि प्रयोग हुन्छ।
युनिभर्सिटी अफ क्यालिफोर्नियाका अनुसन्धानकर्ताहरूका अनुसार भ्यानिलिनले भ्रूणको प्रारम्भिक विकासमा बाधा पुर्याउन सक्ने सम्भावना देखिएको छ। यसले भ्रूणका केही कोष नष्ट गर्नुका साथै स्नायु प्रणाली र मांसपेशी निर्माणमा आवश्यक कोषको विकासमा असर गर्न सक्ने अध्ययनको निष्कर्ष छ।
अनुसन्धानकर्ताहरूका अनुसार भ्यानिलिनले ‘TRPV4’ नामक रिसेप्टरसँग प्रतिक्रिया गर्दा भ्रूणको सामान्य विकास प्रक्रियामा अवरोध आउन सक्छ। यस्तो असरले गर्भधारणमा कठिनाइ वा गर्भपतनको जोखिमसँग सम्बन्ध राख्न सक्ने उनीहरूको भनाइ छ।
तर अनुसन्धान मानव भ्रूणीय स्टेम सेललाई प्रयोगशालामा राखेर गरिएको प्रारम्भिक अध्ययन हो। त्यसैले गर्भवती महिलाको शरीरमा भ्यानिलिनले ठ्याक्कै यस्तै असर गर्छ भन्ने प्रमाणित भइसकेको छैन।
अध्ययनमा संलग्न प्राध्यापक प्रु टालबोटले भेपमा रहेका सबै रसायनबारे प्रयोगकर्तालाई जानकारी नहुन सक्ने भन्दै गर्भावस्थामा भेप प्रयोग नगर्न चिकित्सकीय सल्लाह लिनुपर्ने बताएकी छन्।
अनुसन्धानकर्ताहरूले गर्भावस्थाको प्रारम्भिक चरण वातावरणीय रसायनप्रति बढी संवेदनशील हुने भएकाले भेपसम्बन्धी स्वास्थ्य नीति बनाउँदा गर्भवती महिला र गर्भमा रहेको शिशुमाथि पर्न सक्ने सम्भावित असरलाई पनि ध्यान दिनुपर्ने बताएका छन्।






