जेटस्टारको नयाँ नीति: ओभरहेड लगेजका लागि अतिरिक्त शुल्क लाग्ने

अस्ट्रेलियाको बजेट एयरलाइन्स जेटस्टारले विमानभित्रको ओभरहेड लकरमा सामान राख्न यात्रुले अतिरिक्त शुल्क तिर्नुपर्ने नयाँ नीति घोषणा गरेको छ। उक्त व्यवस्था सन् २०२७ फेब्रुअरी २ देखि लागू हुनेछ।

नयाँ नीतिअनुसार जेटस्टारको टिकटमा अब सिटमुनि राख्न मिल्ने एउटा सानो झोला मात्र निःशुल्क समावेश हुनेछ। ब्याकप्याक, ह्यान्डब्याग वा ल्यापटप ब्यागजस्ता उक्त झोलाको अधिकतम आकार ४० सेमी × ३० सेमी × २० सेमी तोकिएको छ।

ओभरहेड लकरमा सानो सुटकेस वा अर्को ठूलो झोला राख्न चाहने यात्रुले सीमित संख्यामा उपलब्ध ‘प्रायोरिटी क्यारी-अन’ सुविधा अग्रिम रूपमा खरिद गर्नुपर्नेछ। यसको शुल्क एकतर्फी उडानका लागि २५ अस्ट्रेलियन डलरबाट सुरु हुने र गन्तव्य तथा उडानअनुसार बढ्नेछ। जेटस्टारले सार्वजनिक गरेका उदाहरणअनुसार केर्न्सदेखि टोकियोसम्मको एकतर्फी उडानमा यस्तो शुल्क ५२ डलरसम्म पुग्न सक्छ।

प्रायोरिटी क्यारी-अन सुविधा लिने यात्रुले अधिकतम ५६ सेमी × ३६ सेमी × २३ सेमी आकारको अतिरिक्त झोला ओभरहेड लकरमा राख्न पाउनेछन्। एयरलाइन्सले यात्रुले आफैं सहज रूपमा उठाउन सक्ने गरी झोलाको तौल १० किलोभन्दा कम राख्न सुझाव दिएको छ।

यसअघि जेटस्टारले क्यारी-अन सामानमा ७ किलोको तौल सीमा लागू गर्दै विमानस्थलमा सामान तौलने गरेको थियो। नयाँ नीति लागू भएपछि सामानको तौलभन्दा आकारलाई मुख्य आधार बनाइने र चेक-इनका क्रममा नियमित रूपमा तौल जाँच नगरिने एयरलाइन्सले जनाएको छ।

जेटस्टारका प्रमुख कार्यकारी अधिकृत स्टेफानी टलीका अनुसार यात्रु र कर्मचारीबाट प्राप्त प्रतिक्रियाका आधारमा नयाँ नीति ल्याइएको हो। विमानभित्र ओभरहेड लकरको सीमित स्थान व्यवस्थापन गर्ने, बोर्डिङ प्रक्रिया छिटो बनाउने र उडान समयमै सञ्चालन गर्न सहयोग पुर्‍याउने उद्देश्य रहेको उनले बताएकी छन्।

यात्रुले तोकिएको आकारभन्दा ठूलो झोला लिएर विमानस्थल पुगेमा बोर्डिङअघि प्रायोरिटी क्यारी-अन खरिद गर्न वा सामान चेक्ड ब्यागेजमा पठाउन सक्नेछन्। तर सम्भावित अतिरिक्त खर्चबाट बच्न यात्राको तयारीकै क्रममा लगेज विकल्प छनोट गर्न एयरलाइन्सले सुझाव दिएको छ।

चेक्ड ब्यागेजसम्बन्धी नियममा भने कुनै परिवर्तन गरिएको छैन। शिशुसँग यात्रा गर्ने वयस्क यात्रुले बच्चाका आवश्यक सामान राखिएको अर्को सानो झोला पनि अतिरिक्त शुल्कबिना सिटमुनि राख्न पाउनेछन्।

सन् २०२७ फेब्रुअरी २ वा त्यसपछिको यात्राका लागि यसअघि नै टिकट बुक गरिसकेका ग्राहकलाई एकपटकका लागि निःशुल्क प्रायोरिटी क्यारी-अन सुविधा उपलब्ध गराइने जेटस्टारले जनाएको छ।

Advertisement