१९ साउन, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सुनसरीसहित विभिन्न जिल्लामा भएका घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सुनसरी, सिरहा, धनुषा र पर्सामा नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो भन्नेबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताए।
उनले घटनाबाट भएको भौतिक क्षतिको विवरण संकलन गरी पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गरे। घटनाको सत्यतथ्य पत्ता लगाउन निष्पक्ष र विश्वसनीय न्यायिक छानबिन समिति गठन गर्नुपर्ने उनको भनाइ छ।





