अस्ट्रेलियामा आजै संघीय निर्वाचन भए नतिजा निकै प्रतिस्पर्धात्मक हुने नयाँ रोय मोर्गन सर्वेक्षणले देखाएको छ। सर्वेक्षणअनुसार पाउलिन ह्यान्सन नेतृत्वको वन नेसनको प्राथमिक समर्थन २ प्रतिशतले बढेर ३१.५ प्रतिशत पुगेको छ।
यो समर्थन प्रधानमन्त्री एन्थोनी अल्बानिजी नेतृत्वको सत्तारूढ लेबर पार्टीभन्दा बढी हो। लेबरको समर्थन १ प्रतिशतले घटेर २७ प्रतिशतमा झरेको छ भने विपक्षी कोअलिशनको समर्थन ०.५ प्रतिशतले बढेर १७.५ प्रतिशत पुगेको छ।
कोअलिशनभित्र लिबरल पार्टीको समर्थन १५ प्रतिशतमा स्थिर छ भने नेसनल्सको समर्थन २.५ प्रतिशत पुगेको छ। ग्रीन्सको समर्थन ०.५ प्रतिशतले घटेर १३.५ प्रतिशतमा झरेको छ भने स्वतन्त्र तथा अन्य दलहरूको समर्थन १ प्रतिशतले घटेर १०.५ प्रतिशत रहेको छ।
रोय मोर्गनका अनुसार अहिले निर्वाचन भए लेबर र वन नेसनबीच धेरै क्षेत्रमा कडा प्रतिस्पर्धा हुन सक्छ। दुई-दलीय प्राथमिकताको आधारमा लेबर ५१ प्रतिशत र वन नेसन ४९ प्रतिशतमा देखिएका छन्, जसले निर्वाचन परिणाम ‘too close to call’ हुने संकेत गरेको छ।
तर लेबर र कोअलिशनबीचको प्रतिस्पर्धा हेर्दा लेबर अझै अगाडि देखिएको छ। मतदाताको उत्तरका आधारमा लेबर ५४ प्रतिशत र कोअलिशन ४६ प्रतिशतमा छन्। तर २०२५ को निर्वाचनको प्राथमिकता आधारमा गणना गर्दा लेबर ५२.५ प्रतिशत र कोअलिशन ४७.५ प्रतिशतमा सीमित देखिएका छन्।
पाउलिन ह्यान्सनले प्रधानमन्त्री अल्बानिजीले बेलायतका प्रधानमन्त्री कीर स्टार्मरजस्तै राजीनामा दिनुपर्ने बताएकी छन्। उनले आप्रवासन, जीवनयापन खर्च र सरकारी ऋणका कारण अस्ट्रेलियाली मतदाता असन्तुष्ट भएको दाबी गरेकी छन्।
रोय मोर्गनका अनुसार वन नेसनको “Fire the Liar” अनलाइन अभियानले जुन १० देखि करिब ४.७ मिलियन डलर संकलन गरेको छ। उक्त अभियानमा करिब ७५ हजार दाताहरू सहभागी भएका छन्।
यसैबीच, सरकारप्रतिको विश्वास दर १.५ अंकले घटेर ६१ मा झरेको छ। सर्वेक्षणमा करिब ६४ प्रतिशत अस्ट्रेलियालीले देश गलत दिशामा गइरहेको बताएका छन् भने २५ प्रतिशतले मात्र देश सही दिशामा रहेको बताएका छन्।





