अष्ट्रेलियामा नागरिकहरू अहिले आर्थिक वृद्धिभन्दा पनि आधारभूत आवश्यकता—खाना र आवास—प्रति बढी चिन्तित देखिएका छन्। अमेरिकी विश्लेषण तथा परामर्श संस्था Gallup ले गरेको नयाँ विश्वव्यापी सर्वेक्षणले यस्तो देखाएको हो।
Gallup ले १०७ देशका करिब एक हजार वयस्कसँग गरिएको सर्वेक्षणमा जीवनस्तर, महँगी, कम तलबजस्ता आर्थिक विषयलाई २३ प्रतिशतले सबैभन्दा ठूलो राष्ट्रिय समस्या मानेका छन्, जुन काम, राजनीति र सुरक्षाजस्ता अन्य चिन्ताभन्दा दोब्बरभन्दा बढी हो।
विश्वव्यापी रूपमा केवल ३ प्रतिशत सहभागीले खाना र आवासलाई प्रमुख समस्या मानेका छन्। तर उच्च आय भएका देशहरूमध्ये अष्ट्रेलिया भने यस सूचीमा तेस्रो स्थानमा परेको छ। अष्ट्रेलियासँगै आयरल्याण्ड र क्यानडामा पनि आवास संकट गहिरिँदै गएको Gallup को निष्कर्ष छ।
प्रतिवेदनअनुसार यी तीनै देशमा युवा पुस्ता बढी प्रभावित देखिएको छ। घर किन्न वा भाडा तिर्न गाह्रो बन्दै जाँदा, समृद्ध अर्थतन्त्र भएका मुलुकहरूमा समेत नागरिकको आर्थिक धारणा नकारात्मक बन्दै गएको उल्लेख गरिएको छ।
अध्ययनले अष्ट्रेलियामा सुलभ र गुणस्तरीय आवास उपलब्धताप्रतिको सन्तुष्टि पछिल्लो दशकमा उल्लेखनीय रूपमा घटेको देखाएको छ। सन् २०१५ मा करिब ५० प्रतिशत रहेको यो सन्तुष्टि सन् २०२५ सम्म आइपुग्दा घटेर २५ प्रतिशतमा सीमित भएको छ।
यसैबीच, Australian Bureau of Statistics (ABS) ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार डिसेम्बर २०२५ सम्मको १२ महिनामा सबै प्रकारका घरपरिवारको जीवनयापन खर्च बढेको छ। आवास, खाना तथा गैर–मादक पेय पदार्थको मूल्यवृद्धिका कारण वार्षिक जीवनयापन खर्च २.३ प्रतिशतदेखि ४.२ प्रतिशतसम्म बढेको ABS ले जनाएको छ।
मुद्रास्फीति दर पनि उकालो लागेको छ। पछिल्लो तथ्यांकअनुसार उपभोक्ता मूल्य सूचकांक (CPI) एक वर्षमा ३.४ प्रतिशतबाट ३.८ प्रतिशत पुगेपछि हालै ब्याजदर वृद्धि गरिएको हो।
अष्ट्रेलियाका कोषाध्यक्ष Jim Chalmersले बढ्दो जीवनयापन खर्चका कारण नागरिकहरू दबाबमा रहेको स्वीकार गर्दै ऊर्जा छुटजस्ता अस्थायी कारण र आवासजस्ता दीर्घकालीन संरचनागत समस्याले मूल्यवृद्धि बढाएको बताएका छन्। उनले सरकार लागत–दबाब कम गर्न विभिन्न उपायहरू लागू गरिरहेको पनि बताएका छन्।





